
काठमाडौं । नेपाली काँग्रेससँगकाे गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिंदै केही दलहरू बाहिरिने क्रम जारी रहेकाे छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमै उभिन तैयार रहेकाे जसपा नेपालका एक सदस्यले जानकारी गराएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको नेपाल संसदीय दलको बैठकले वर्तमान सरकारलाई असफल ठहर गर्दै समर्थन फिर्ता गर्ने र अबदेखि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुका कारण ओली नेतृत्वको सरकारले गर्न नसकेका ११ बुँदे तर्कहरू प्रस्तुत गर्दै सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन नसकेको, भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिसनतन्त्र नियन्त्रण गर्न नसकेको, मुलुकको अर्थतन्त्र सुधार्न र आर्थिक विकासको गति अगाडि बढाउन नसकेको आरोप छ ।
त्यस्तैगरी संघीयता कार्यान्वयनमा ठोस प्रयास नभएको, कृषि, उद्योग, पर्यटन र जलस्रोत विकास गर्न नसकेको, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता सेवा प्रवाहमा गुणात्मक सुधार गर्न नसकेको पनि पार्टीको निष्कर्ष रहेकाे जनाउँदै समर्थन फिर्ता गरेकाे बताइएकाे छ ।
सरकारका असफल पक्षहरू जसपाको निष्कर्ष अनुसार
- सुशासनको प्रत्याभूति दिलाउन असफल
- भ्रष्टाचार, अनियमितता, दण्डहीनता नियन्त्रणमा असफल
- अर्थतन्त्र सुधार गर्न र विकासको गति अगाडि बढाउन असफल
- संघीयता कार्यान्वयनमा ठोस प्रयासको कमी
- कृषि, उद्योग, पर्यटन र जलस्रोत विकासमा कमजोरी
- शिक्षा, स्वास्थ्य, खानेपानी सेवा प्रवाहमा गुणात्मक सुधारको अभाव
- उत्पीडित समुदाय (मधेशी, थारू, महिला, दलित आदि)को समस्यामा समाधानको प्रयास नगरेको
- आन्दोलनमा झूटा मुद्दा लगाइएका बन्दीको रिहाइ नगरेको
- संविधान संशोधनमा कुनै अग्रसरता नलिएको
- किसानका लागि मल, बीउ, ऋण र सहुलियत प्रवाह नगरेको
- रोजगारीका अवसर सिर्जना गरेर बेरोजगारी समाधान नगरेको