४ जीपीए ल्याएकी देवयानी गौतमको प्रधानमन्त्री ओलीलाई अपिल: “शिक्षामा सस्तो राजनीति नगर्नुहोस्”!

काठमाडौं, असार १८-
एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी देवयानी गौतमले शिक्षामा भइरहेको ‘सस्तो राजनीति’ प्रति गम्भीर प्रश्न उठाएकी छिन्। उनले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलेर अपिल गर्दै शिक्षालाई राजनीति गर्ने माध्यम नबनाउन आग्रह गरेकी हुन्।
देवयानी गौतमले यस वर्षको एसईई परीक्षामा पूर्ण ४ जीपीए ल्याएकी हुन्। आफ्नो अध्ययन र परीक्षा अनुभव सुनाउँदै उनले भनिन्, “यस पटकको एसईई नतिजालाई २०८० सालको नतिजासँग तुलना गरेर शिक्षामा देखावटी सुधारको प्रचार गर्नु गलत हो। म आफैंले २०८० र २०८१ दुवै वर्षका प्रश्नपत्र अध्ययन गरेकी छु। तुलनात्मक रुपमा यो वर्षको प्रश्नपत्र निकै सजिलो थियो।”
उनले यस वर्ष कतिपय विषयका प्रश्नमा अघिल्लो वर्षकै प्रश्न दोहोरिएको बताइन्। साथै, परीक्षा केन्द्रहरूमा खुल्लमखुल्ला नकल गराउने प्रवृत्तिले शिक्षाको स्तर नबढ्ने उनको भनाइ छ। देवयानीले जोड दिँदै भनिन्, “प्रश्नपत्र सजिलो बनाएर वा नकल गराएर शिक्षा सुधार हुँदैन। त्यो देखावटी सुधार मात्रै हो।”
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले थप भनिन्, “तपाईंले सुधार गर्ने प्रयत्न गर्नुभएको होला तर पुरानै टालटुले शैलीले यो समस्या समाधान हुँदैन। शिक्षामा दिगो र गुणस्तरीय सुधार आवश्यक छ।”
उनले यस विषयमा सम्पूर्ण सरोकारवाला निकायहरूलाई ध्यान दिन आग्रह गरेकी छिन्।
देशभर ४ लाख ३८ हजार बढी विद्यार्थीले दिएको एसईई नतिजामा यस वर्ष ४ जीपीए ल्याउनेको संख्या ४८ हजार नाघेको छ। नतिजाको आकडालाई लिएर विभिन्न राजनीतिक दलका नेताहरूबीच आरोप–प्रत्यारोप भइरहेका छन्।