मकवानपुरकाे सिस्नेरी खोलामा डुबेर तीन बालकको मृत्यु

मकवानपुर – बागमती प्रदेशकाे मकवानपुर जिल्ला अन्तर्गतकाे इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर आज तीन बालकको ज्यान गएकाे छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए अनुसार खाेलामा डुबेर ज्यान गुमाउनेहरूमा इन्द्रसराेबर-३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भई सिस्नेरीस्थित मामा घर आएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको डुबेर मृत्यु भएका हुन् ।
मामाघर घुम्न गएका दाप्चा निवासी मृतक घोरासैनीद्वय दाजु भाई मामाका छोरासँग स्थानीय बजार पछाडि रहेको खोलामा नुहाउन जाँदा तीनै जना पौडी खेल्ने क्रममा डुबेकाे बताइएकाे छ ।
प्रहरी निरीक्षक ढकालकाे जानकारी उद्धृत गर्दै तीनै जनाको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि पाटन अस्पताल पठाइएकामा उपचारकै क्रममा मृत्यु भएको स्थानीयले बताएका हुन् । हाल मृतक बालकहरूको शव परीक्षणका लागि पाटन अस्पतालमा राखिएको जनाइएकाे छ ।