दाेलखा जिल्लाकाे सडक निर्माणका लागि करिब डेढ अर्ब लगानी सुनिश्चित

दाेलखा चरिकाेट – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दाेलखा जिल्लाका सबै सडक भ्रमण गरेर अवलाेकन गरेपछि दोलखाको सडक पूर्वाधारतर्फ झण्डै डेढ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएकाे जनाएकाे छ ।
मन्त्री देवेन्द्र दाहालले आईतवार र सोमवार दुई दिनसम्म सडक विभागका महानिर्देशक रामहरी पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठलाई साथमा लिएर जिल्ला स्थित सडकहरुको स्थलगत अवलोकन गरेका थिए ।
अवलाेकन पश्चात् मन्त्रालयले जिल्लाको रणनीतिक महत्वका सडक निर्माणदेखि बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतसम्भारका लागि आवश्यक स्रोत सुनिश्चित गरेको हो। जिल्लास्थित राजनीतिक दलहरूले सडक स्तराेन्नति र बाढीपहिराेबाट क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि गएको डेलिगेसनलाई मध्यनजर राखेर मन्त्रीले भ्रमण गरेपछि यो बजेट छुट्याइएको बताइएकाे छ ।
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार, विभिन्न सडक पूर्वाधारहरूको लागि १ अर्ब ४७ करोड ६० लाख रुपैयाँ सुनिश्चित भएको छ। मुख्य योजनाहरूमा किर्ने–भोर्ले–ढोलीखोला सडकका लागि ४५ करोड, खुर्कोट–मिल्ति सडकका लागि ४० करोड, बहुवर्षीय योजनाका लागि २० करोड र अन्य सडक मर्मतसम्भारका लागि बजेट छुट्याइएको छ।
एमाले पोलिट ब्युरो सदस्य पूर्वमन्त्री पार्वत गुरुङले यसलाई विकास, निर्माण र सुशासनको लागि सफल प्रयास भएको बताएका छन्।