विविध उद्देश्य सहितकाे कार्यक्रमसँगै १३ दिने दाेलखा महाेत्सव सुरु

दाेलखा चरिकाेट – दाेलखा जिल्लाकै आन्तरिक उत्पादनको प्रवर्द्धन गर्न,सुस्ताउँदो व्यापार व्यवसायलाई चलायमान बनाउन तथा कृषि र उद्यम उत्पादनलाई प्रेरणात्मक उद्देश्य सहित दाेलखा महाेत्सव सुरु भएकाे छ ।
दाेलखा जिल्लाकाे सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा जारी महोत्सवको सुरुवात स्थानीय साँस्कृतिक टाेलीकाे सहभागितामा विभिन्न झाँकी सहित चरिकाेटकाे मुख्य बजार परिक्रमा गरेपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटनद्वारा १३ दिने दाेलखा महाेत्सव सुरु भएकाे छ ।
यस वर्षकाे महोत्सवमा विविध बिक्री कक्ष स्थापना गरी १४० वटा स्टल राखिएको छ जसमा ६२ वटा स्टल स्थानीय उद्यमीहरूले संचालन गर्ने जानकारी स्थानीय संवाददाताले जनाएकाे छ ।

कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक नृत्य र सांगितीक कार्यक्रम प्रदर्शनी, नृत्य प्रतियोगिता, लोक दोहोरी, जातीय भेषभूषा प्रतियोगिता, र ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिने जानकारी दाेलखा उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धरकाे भनाइ उदृत गर्दै संवाददाताले बताएकाे छ।

दोलखा उद्योग बाणिज्य संघका महासचिव सुरेश उप्रेतीले यस महाेत्सवमा विशेष गरी जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, विद्यार्थीहरू र ८ बर्ष मुनिका बालवालिकालाई विशेष छुट समेत दिइने जानकारी दिएका छन्।
उत्कृष्ट कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिने यो महोत्सव दोलखा जिल्लाको आर्थिक, सांस्कृतिक, र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने पनि जानकारी पनि गराइएकाे छ ।