दोलखाको जिरीमा एक बृद्धको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनामाथि अनुसन्धान सुरु

२ माघ, दोलखा । दोलखाको जिरी नगरपालिका स्थित पटासेमा जिल्ला प्रहरीले तीन जनालाई पक्राउ गरी हिरासतमा राखेर एक बृद्धको हत्या गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।
दोलखा जिल्ला प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक दाताराम अधिकारीले हत्याकाे आरोपमा पक्राउ परेका तीनै जनालाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।
हत्याकाे आरोपमा पक्राउ परेका जिरी नगरपालिका–२ का ६६ वर्षीय धनबहादुर तामाङ उनकी श्रीमती गंगामाया तामाङ र वडा नम्वर ४ को ५२ वर्षिय शान्ता जिरेललाई आज दोलखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको प्रवक्ता अधिकारीले बताउनु भएकाे छ ।
जिरी नगरपालिका २ पटासेका ६१ वर्षीय होम्बा तामाङ आईतबार आफ्नै घरमा मृत फेला परेका थिए । मृतक तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको भन्दै दाहसंस्कारको तयारी गरिएका बेला जेठा छोराले हत्याको आशंकामा जाहेरी दिएपछि प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
उनको २६ गते नै हत्या भएपनि २८ गते मात्रै शव फेला परेको थियो । मृतक तामाङ घरमा एक्लै बस्ने भएकाले दुई दिनसम्म उनको मृत्युबारे खवर आउन नसकेको दोलखा प्रहरीले जनाएको छ । घटनाको दुई दिन पछि एक छिमेकी कुकुरको छाउरो लिन आउँदा मात्रै उनको मृत्युबारे थाहा भएको थियो ।
दोलखा प्रहरीका अनुसार पक्राउ परेका धनबहादुरले प्रहरीसँगको बयानका क्रममा आफुले होम्बालाई चिर्पट प्रहार गरी हत्या गरेको स्वीकारेका छन् ।