
विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक सातामा दुई जलविद्युत् आयोजनामा बैंक तथा वित्तीय संस्थाले रु २६ अर्ब बराबरको ऋण लगानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का उपाध्यक्षसमेत रहेका प्रवद्र्धक मोहनकुमार डाँगीले जानकारी दिए अनुसार लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवद्र्धित ४९ दशमलव ९५ मेगावाट क्षमताको दानाखोला जलविद्युत् आयोजनाका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाले रु नौ अर्ब ९६ करोड लगानी गर्ने सम्झौता भएको छ ।
पछिल्लो पटक प्राप्त जानकारीमा आए अनुसार आयोजनामा रु ७४ करोड बराबरको शेयर आयोजना प्रभावित स्थानीयवासीलाई जारी गरिनेछ भने रु एक अर्ब ७४ करोड बराबरको लगानी सञ्चालक एवं प्रवद्र्धकले गर्नेछन् ।
लमजुङमा आयोजनास्थल अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको सो आयोजनामा विभिन्न वित्तीय संस्था तथा बैंकले रु १६ अर्ब बराबरको लगानी गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरेका छन् ।
लक्ष्मी सनराइज बैंकले रु सात अर्ब, ग्लोबल आइएमइ बैंकले रु छ अर्ब र प्रभु बैंकले रु तीन अर्ब बराबरको लगानी गर्ने तथ्यानुसार सो आयोजनाको कूल लागत रु २१ अर्ब ४० करोड बराबर रहनेछ । कूल लागतमध्ये ७४ दशमलव ७७ प्रतिशत बैंकले र २५ दशमलव २३ प्रतिशत प्रवद्र्धकले लगानी गन कम्पनीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।