
काठमाडौं १५ पौष । नेपाली सिने कलाकार बुद्धि तामाङले तमु ल्होसार २०८१को अवसर पारेर नेपाली फिल्म ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरेका छन् ।
निर्माताको जिम्मेवारी लिएका कलाकार बुद्धि तामाङले आफू पनि कलाकारिता क्षेत्रमा धेरै वर्षदेखि लागिएकोले केही अनुभव रहेको र यस कुस्ती शीर्षकको कथावस्तुमा धेरै राम्रा पक्षहरू र आफू संलग्न रहेको टीम पनि उत्तम रहेकाले फिल्म निर्माण गर्न उत्सुकता जागेको बताएका छन् ।

यस चलचित्रका लागि प्रारम्भिक छलफल पछि पोष्टर डिजाइन समेत गरिएको यस कुस्ती चलचित्रमा अनिल योञ्जनको लेखन रहेको छ भने निर्देशन पनि योञ्जनले नै गरिने भएको छ ।
फिल्मको सार्वजनिक पोस्टरमा नायक धीरज मगर र नायिका मिरुना मगरको तस्बिर चित्रण गरिएका छन् । यस पोस्टरमा लाइट ग्रीन र लाइट पिङकको प्रयोग गरिएको छ । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने बताइएको छ ।

अनुषा सिनेमा वुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।
कथाका लेखक तथा फिल्म निर्देशनको अभिभारा लिएका अनिल योञ्जनले दुई प्रेमी प्रेमिकाहरूमा एक अर्कालाई धेरै माया गरेर कहिल्यै नछुट्टिने प्रण गरे पनि आ–आफ्नो अवस्थाले गर्दा एकसाथ रहन कठिनाईको सामना गर्न बाध्य हुने कुरा बताएका छन् ।
अनुषा सिनेमा वुड पिक्चर्स प्रालीको व्यानरमा बन्नलागेको यस चलचित्रलाई काठमाडौँ रीच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन गर्ने लक्ष रहेको निर्माण पक्षले जनाएका छन् । पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।