विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति असद रूस पुगे

२४ मंसिर, काठमाडौं विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।
मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ
बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ।
विद्रोही समूह हयात तहरिर अल शाम ९एचटीएएस० आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।
तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए ।
बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।
सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।