पोखरामा सन्किंदै छ रवि लामिछानेका समर्थक, तन्किंदैछ सामाजिक सञ्जाल र खबर संसार

३ कार्तिक कास्की पोखरा । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरिएको समाचारले सामाजिक सञ्जाल लगायत राष्ट्रिय समाचारका माध्यमहरू तात्तिन थालेका छन् ।
रास्वपाका अध्यक्ष लमिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ता र समर्थकहरूले पोखरामा वृहत विरोध प्रदर्शन शुरु गरेका छन् । रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरूले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा जम्मा भएर नाराबाजी शुरु गरेको जानकारी स्थलगत खबरदाताले दिएका छन् ।
पोखराको विरोध प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरूदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता, कार्यकर्ता र राजनीतिज्ञहरूको समेत उपस्थिति रहेको बताइएको छ । रास्वपाका नेता तथा अध्यक्ष लामिछानेको पक्राउबारे असन्तुष्ट जनाउँदै केही संघीय सांसदहरू, विभागीय व्यक्तित्वहरू लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूले न्यायालय लगायत छानबिन समितिले गरेको निर्णयबाट लामिछाने दोषी रहे नरहेको ठोस तथ्य बताउन अलमलिरहेको अवस्थामा राज्यले ठाडो हस्तक्षेप गरेको तर्क प्रस्तुत गरेका छन् ।
यता राजधानीमा रास्वपाले आज काठमाडौंको माइतिघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको जानकारी पनि प्राप्त भएको छ ।लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । पक्राउ गर्नु केही समय अगाडि नै पार्टी कार्यालय परिसरमा प्रहरीको जम्बोटोली खटाइएका थिए । यसको मतलब लामिछानेलाई पक्राउ गर्ने तैयारी निकै समय पहिले नै गरिएको विज्ञहरूको तर्क रहेको छ ।

अध्यक्ष रवि लामिछानेको बारेमा रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गर्ने बताएको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाएका छन् ।