पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ

२ कार्तिक काठमाडाैं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयबाटै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका हुन् ।सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा विगतदेखि नै चर्चामा रहेकाे लामिछाने केही दिनदेखि कडा निगरानीमा रहेकाे थियाे । उनीमाथि लागेकाे आरोपकाे सत्य र तथ्य पत्ता लगाउने उद्देश्यले अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरिएको बुझिएकाे छ ।
शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेलाई पक्राउ गरेर कास्की लगिएको छ । प्रहरीले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दा अनुसन्धान गरिरहेको छ । ठाेस निष्कर्ष बिना नै पक्राउ गरिएकाेमा सञ्चार जगत तात्तिएकाे देखिएकाे छ ।
कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियाे । जसमा लामिछानेका साथै विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्त बाबु राई, रामबहादुर खनाल छन् ।
रास्वपा कार्यालयमा दिउँसैदेखि समर्थकहरुको भिड रहेकाे थियाे । साथै प्रहरीहरू पनि साे कार्यालय वरिपरि बाक्लै देखिएका थिए । समर्थकहरूकाे नारावाजीबीच उनलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने उद्देश्यले व्यापक प्रहरी परिचालन गरिएको एक प्रहरी अधिकृतले जानकारी गराएका थिए ।
स्रोतका अनुसार, लामिछानेलाई पक्राउ गरेर शुक्रबारै कास्की पठाउने तयारीका साथ जिल्ला अदालत, कास्कीले रविलाई पक्राउ गर्न शुक्रबार अपराह्न अनुमति दिएको थियो ।
सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।
त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर, लामिछाने पक्राउ परेका थिएनन् ।