
४ अशोज २०८१ काठमाडौं । नेपाली गीत तथा गजलमा लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गीत ‘जिन्दगी बाँच्नु छ’ को सांगीतिक भिडियो चित्र विश्वज्योति मलको १ नं. सिने कक्षमा सार्वजनिक गरिएको छ ।
एक विशेष समारोेहका बीच सार्वजनिक गरिएको सो समारोहमा समाजसवी, नवगायिका एवम् समकालीन एकता समाजकी अध्यक्ष सकुना श्रेष्ठ मलेकुले अध्यक्षता ग्रहण गरेकी थिइन् । कार्यक्रममा गीतकार, संगीतकार, पत्रकार र कलाकारहरूको उपस्थिति रहेको थियो ।

नवगायिका सकुना श्रेष्ठको जन्मदिनको अवसर पारेर गरिएको सो समारोहमा नेपाली गजल तथा गीतका गायक आनन्द कार्कीले प्रस्तुत हुन लागेको भिडियो सांगीतिक चित्रको बारेमा प्रष्ट्याउँदै सो गीत तैयार गर्नमा साथ सहयोग दिने सबैलाई र सार्वजनिक कार्यक्रममा आएका सबै अतिथि र दर्शकहरूमा आभार व्यक्त गरेका थिए ।
कार्यक्रमका अध्यक्ष सकुना श्रेष्ठले सो गीतमा अभिनेत्रीको रूपमा आफूलाई प्रस्तुत गर्न पाएकोमा अत्यन्तै खुशी लागेको बताउँद यसै गीति चलचित्रमा अभिनेत्रीमा अनुबन्ध गराउनु हुने गायक आनन्द कार्कीप्रति आभार व्यक्त गरेकी थिइन् । साथै उनले सो सांगीतिक भिडियो चित्र निर्माणमा सहयोग पुर्याउने पूरै समूहलाई धन्यवाद व्यक्त गर्दै गीतकार तथा संगीतकारप्रति नमन व्यक्त गरिन् । कार्यक्रममा नायिका विनीशा शर्मा र म्यूजिक एरेनजर चाँद सिंले पनि सो गीतको बारेमा बोल्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।

नितिन चन्दले निदैशन गरेको सो ‘जिन्दगी बाँच्नु छ’ सांगीतिक भिडियो चित्रमा आनन्द कार्कीको स्वर रहेको छ । गीतको शब्द कुसुम गजमेरले रचेका हुन् । संगीत निर्देशन रणजीत गजमरेको रहेको छ भने म्यूजिक एरेन्जरमा चाँद सिं, एरेन्ज निर्देशनमा संजिप कार्की, मेकअपमा सुषमा, निर्माण प्रबन्धकमा दिपेन्द्र भट्टराई, क्यामेरा प्रविधि तथा सिनेअटोग्राफीमा नितिन चन्द, सम्पादन विजय कार्की, ग्राफिक्स् लक्ष्मी कार्की, सहायक निर्देशक नमित चन्द ठकुरी रहेका छन् ।
गीतको बोल ‘जिन्दगी बाँच्नु छ’ शीर्षकको गीतको सारांशमा बितिसकेको अभिभावकको यादले उदास भएको दिदीलाई बहिनीले अतीतका यादमा डुबेर दुःखी भएर होइन वर्तमानको समयलाई खुशीले अंगाल्दै आउने घडीमा उत्साहजनक कार्य गर्न प्रेरणा दिन प्रयास गरेको देखाइएको छ । त्यसैले दिदीलाई खुशी राख्न बहिनीले दिदीचाहिँलाई थाहा पत्ता नै नदिइकन आफ्ना साथीहरू र छिमेकीलाई बोलाएर धुमधामले जन्मदिन मनाएर आश्चर्य दिलाएको दृश्य यस गीति भिडियोमा देख्न पाईन्छ ।
यस भिडियो चित्रमा नायक आनन्द कार्की, दिदीको भूमिकामा सकुना श्रेष्ठ, नायिका बहिनीको भूमिकामा विनिशा शर्मा रहेकी छन् । साथै यसमा दीपेन्द्र भट्टराई र मंगल कार्कीले अभिनयमा साथ दिएका छन् । हाल यो सांगितीक भिडियो चित्र आनन्द कार्कीको अफिसियल युट्युबमा प्रसारण भइ रहेको छ ।