संघीय सांसदहरूद्वारा गरिए अरनिको राजमार्ग निर्माण अवलोकन, निर्माण व्यवसायीको सुस्तताले सडकमा समस्या भएको आशंका

२४ भदौ २०८१ काभ्रे बनेपा । संघीय सांसदको पूर्वाधार विकास समितिका सदस्यहरूले अरनिको राजमार्ग निर्माण परिसर अनुगमन गरेको छ ।
समितिले भक्तपुरको सूर्यविनायक सडकखण्डदेखि सिन्धुपाल्चोकको कोदारी सम्म अनुगमन गरी स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दा अनि सरोकारवाला निर्माण व्यवसायी समूहसंग सोधपुछ समेत गरेका छन् ।
पूर्वाधार विकास समितिका संयोजक शंकर भण्डारकिो नेतृत्वमा गएको टोलीमा सांसद माधव सापकोटा, बिना लामा र सुशीला श्रेष्ठ रहेका थिए । उक्त टोलीले अनुगमनको क्रममा धुलिखेल–खावा सडक खण्डको अलपत्र अवस्थाको बारेमा स्थानीयहरूको रोहबरमा निर्माण व्यवसायी कम्पनीका गौरी पार्वती निर्माण कम्पनीको कमी कमजोरी र लापर्वाहीबारे पनि जानकारी उपलब्ध गराएको छ ।
गौरी पार्वती निर्माण कम्पनीले सडक मर्मतमा विभिन्न बहाना बनाइ ढिलाइ गरेको, धुलिखेल–खावा सडक खण्डको भित्तामा लगाइने पर्खाल पनि ठेक्कामा अन्यलाई जिम्मा दिएर स्तरीय र मजबुत तरिकाले बनाउन उचित निर्देशन नदिएको भन्दै स्थानीय जनप्रतिनिधि लगायत बासिन्दाले समेत सराकार र निर्माण कम्पनी दुवैलाई आक्रोश पोखेका छन् ।
अनुगमनको क्रममा टोलीले निर्माण कम्पनीसँग स्पष्टीकरण माग्दा निर्माण कम्पनीको तर्फबाट केही केही कमी कमजोरी भएको महशुस व्यक्त गरेको बुझिन आएको छ । अनुगमन समितिले जिल्ला समन्वय समिति, निर्माण कम्पनी र स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको तर्फबाट व्यक्त भएका गुनासा र प्रतिक्रियालाई सरकार समक्ष राखेर सडक निर्माणको क्रममा भएका उचित अनुचित कार्यबारे आवश्यक छलफल गरी यथाशक्य छिटै समस्या समाधानको पहल गरिने बताएका छन् ।
तस्बिर साैजन्यः रासस