
२० भदौ २०८१ काठमाडौं । नेपाल कम्युनिष्टका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान केन्द्रले आयोजना गरेको ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ शीर्षकको विचार संगोष्ठी सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेकपा माहोवादीका उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री नारायणकाजी श्रेष्ठको आतिथ्यमा भएको आजको विचार गोष्ठीको सभापतित्व प्रतिष्ठान केन्द््रका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले गर्नु भएको थियो । सोही स्मृति प्रतिष्ठान केन्द्रीय कार्यसमितिकी सदस्य सत्य पहाडीको स्वागत मन्तव्यबाट कायैक्रमको थालनी भएको थियो ।

‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ मुल शीर्षकको सवचार संगोष्ठीको उपशीर्षक ‘प्रतिक्रान्तिको शिक्षाको आलोकमा अबको समाजवादको बाटो’ रहेको थियो उक्त विषय शीर्षकमा केन्द्रीत रहेर नेकपा माओवादी केन्द्रका शीर्ष नेता एवम् पूर्व सभामुख अग्नी सापकोटा, नेकपा एमालेका शीर्ष नेता प्रदीप ज्ञवाली, बाम बुद्धिजीवी डा. महेश मास्के, क्रान्तिकारी कम्युनिष्ट परिषदका हेमन्तप्रकाश ओलीले समाजवादको आवश्यकता, विस्तार र महत्वको बारेमा चर्चा गरेका थिए ।
यही सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता आहुती, बाम बुद्धिजीवी खगेन्द्र प्रसाईँले पनि समाजवादको उत्सर्ग र उत्थानको लागि हुनुपर्ने अवधारणा बारे प्रकाश पारेका थिए ।
अन्तिम वक्ताको रूपमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादको बारेमा विश्लेषण सहित अबको समयमा चाल्नुपर्ने कदम र नेपालमा समाजवादलाई कसरी अग्रपंक्तिमा ल्याउन सकिन्छ र समाजवाद बारेमा नेपाली जनमानसमिा कस्तो छाप परेको छ भन्ने बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
समाजवाद बारेमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता आहुतीले समाजवाद भनेर ३०÷४० वर्ष पहिलेको अवधारणालाई प्रस्तुत गरेर अहिलेको जनमानसलाई शिक्षा दिन खोज्नु उपयुक्त नभएको तर्क राख्दै समयसापेक्ष तर्क र सन्देशमूलक व्याख्याको जरुरी रहेको बताएका थिए ।
वक्ताहरूको तर्क र सहभागी बीचको छलफल पछि सभाध्यक्ष गिरिराजमणि पोखरेलले आफ्ना भनाइ प्रस्तुत गरिसकेपछि सभा समापन गरिएको थियो । कार्यक्रम काठमाडौंको वागवजार स्थित होटल हार्दिकको सभा कक्षमा भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव प्रल्हाद पोखरेलले गरेका थिए