संस्कृति र माैलिकता जाेगाउन दाेलखामा वाद्यवादन प्रशिक्षणकाे आवश्यकता विषयक छलफल सम्पन्न


काठमाडाैं २ जेठ २०८३ । दोलखाको मौलिक भजनमा स्थानीय दाेलखा नेवार भाषाकाे प्रयाेग, संस्कृति र परम्परागत बाजा संरक्षणबारे काठमाडौंमा बसोबास गर्ने दोलखावासीबीच विशेष छलफल सम्पन्न भएको छ।
नेवाः देय् दवु दोलखा काठमाडाैं सम्पर्क समितिको आयोजनामा काठमाडाैंक घट्टेकुलाेस्थित सामुदायिक भवनकाे सभाकक्षमा भएको कार्यक्रममा सचिव संताेष प्रधानले दाेलखामा चलिरहेकाे माैलिक परम्परागत भजन सञ्चालनमा बिस्तारै सुस्तता छाउँदै गएकाेमा पछिल्लाे पुस्ताका लागि अहिले नै कदम चालिहाल्नु पने अवस्था देखिएकाेले समितिले उक्त छलफल कार्यक्रम राखिएकाे खुलासा गरे ।
भावी याेजनाका लागि के गर्ने त भन्ने सन्दर्भमा सम्पर्क समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले एकातिर विभिन्न पेशा, व्यापार, शिक्षा हासिल गर्न शहराेन्मुख गतिविधिका कारण दाेलखामा जनशक्ति कम हुँदै गएकाे र अर्काेतिर स्थानीय आर्थिक स्तर निम्न भएकाेले समयमै प्रशिक्षण दिलाउन असहज स्थितितर्फ ध्यान दिन सबैकाे राय र सुझावकाे जरुरी रहेकाे हुनाले नै छलफल कार्यक्रम राखिएकाे बताए ।

दाेलखामा माैलिक परम्परा अनुसारकाे भजनमा विविध विशेषता बाेकेका अर्थयुक्त ताल, लय, रागले जात्रा, माैसम, ऋतु र चाडपर्वलाई अंकित गर्ने गरेकाे छ । तथापि माैलिकताकाे व्याख्या गरिएपनि दाेलखामा भजन भने स्थानीय नेवार भाषामा प्रयुक्त नहुनुकाे कारण जान्न चाहेकाे जताए । साथै उनले पुर्खाहरूले ती कुरामा तान्त्रिक र वैज्ञानिक ढाँचाले हरेक भजनबाट दाेलखाकाे गरिमामय महत्व झल्काएर जुन कार्यकाे शुभारम्भ गरेका थिए । पछिल्लाे पुस्तामा पुन्दा क्रमशः हराउँदै गएकाेले सबैजना जागरुक हुनुपर्ने बताउँदै दाेलखामा प्रचलित वाद्यवादनका सामग्रीकाे नाम र त्यसकाे बजार मूल्यसहितकाे लागत बताउँदै अनुमानत बजेटकाे आवश्यकता औँल्याए।

स्थानीय संस्कृतिकर्मी तथा समाजसेवी भगवानदास श्रेष्ठले दाेलखामा भैरहेकाे वर्तमान अवस्थाकाे बारेमा गहिराे चिन्ता व्यक्त गर्दै परम्परा भनेर जातीय र वर्ण विभाजन नगरीकन जुनसुकै समुदायलाई पनि समाहित गरेर वाद्यवादन तालिमका लागि अघि बढाएमा केही टेवा पुग्ने धारणा राखेका छन् ।
छलफलकाे क्रममा उपस्थित शिक्षाविद् तथा भजनप्रेमीहरूको धारणा दाेलखा र काठमाडाैं दुबै ठाउँमा रहेका किशाेरकिशाेरी युवा जाेकाेहीलाई तालिम दिन प्राेत्साहित गराएर उनीहरूकाे जीविकाेपार्जनकाे मार्ग समेत खुलाएर अगाडि बढ्दा उपयुक्त हुने रहेकाे थियाे ।
सहभागीहरूमा प्राध्यापक अमन श्रेष्ठ, प्रा.डा. हरिदशैन श्रेष्ठ, साहित्यकार अमरकुमार प्रधान, वाद्यवादक रामबहादुर श्रेष्ठ, समाजसेवी भल्ला मास्के, कानुनी क्षेत्रका अधिवक्ता सुरेश प्रधान, युवा समाजसेवी तथा बालकुमारी जात्रा सम्बद्ध गुठियार राम श्रेष्ठ, त्रिविविका पूर्व प्रशासकीय प्रमुख राजु श्रेष्ठ, बाँपिझ्याला मिडिया प्रमुख उपेन्द्र प्रधान, नेदेदबू केन्द्रीय सदस्य देवेन्द्रनारायण प्रधान लगायतले दोलखाको सांस्कृतिक सम्पदा संकटमा परेको चिन्ता व्यक्त गर्दै युवापुस्तालाई नियमित प्रशिक्षणमार्फत ज्ञान र सीप हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा स्थानीय तह विशेषगरी भीमेश्वर नगरपालिका र वडा नं. २ दोलखाले संरक्षण, प्रशिक्षण तथा स्रोत व्यवस्थापनमा अग्रसर हुनुपर्ने साझा धारणा व्यक्त गरियो। साथै, सांस्कृतिक सम्पदाको अभिलेखीकरण, दस्तावेजीकरण र प्रचारप्रसारमा समुदाय, गुठी संस्था तथा सामाजिक संघसंस्थाबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालियो।
कार्यक्रमले दोलखाको भाषा, भजन र बाजा संरक्षणका लागि सामूहिक प्रतिबद्धता जनाउँदै आगामी दिनमा थप सक्रियता देखाउने वातावरण तयार गरेको छ। आयाेजक समितिक तर्फबाट याे छलफल पहिलाे खुड्किला काठमाडाैंमा रहेका दाेलखालीबीच भएकाे भएपनि निकट भविष्यमा स्थानीय दाेलखामा स्थानीय निकायकै मातहतमा छलफल गरिने जानकारी गराएका छन् ।
छलफल कार्यक्रमका लागि सभाकक्ष तथा खाजा चियापानकाे व्यवस्था वरिष्ठ कलाकार तथा समाजप्रेमी मदनदास श्रेष्ठ र युवा समाजसेवी अधिवक्ता प्रवीण प्रधानकाे समन्वयमा भएकाे हाे ।