Headlineमनोरञ्जनविचार

बलिउडमा पाइलाे टेक्दै दाेलखाली सिने कलाकार दीप श्रेष्ठ

स्थानीय संगीत र नाट्य पात्रकाे बिंडाे थाम्दैछन् युवा कलाकार दीपनारायण श्रेष्ठ । पिता ‘माड सा’ब’ हर्षबहादुर श्रेष्ठ झण्डै पाँच दशक अगाडि दाेलखाका लागि लाेकप्रिय संगीतकार र पर्दा नाटकका प्रशिक्षक थिए । हारमाेनियम बजाउन खप्पिस माडसा’ब श्रेष्ठले आफ्नो जन्मघरकाे नजिकै रहेकाे नाट्यश्वर मन्दिर (नाश्वर) सामुकाे डबलीमा निकै नै धार्मिक नाटकहरू मञ्चन गरेका थिए । वाद्यवादनमा अत्यन्तै रुचि भएका श्रेष्ठ हारमाेनियमका साथै तबला बजाउन पनि पछि पर्दैनथे । उनै बाबु (पिता)काे लयमा कान्छाे छाेराे दीपनारायण श्रेष्ठ अनवरतरूपमा लागिपरेका छन् ।

नेपाली टेलिचलचित्रबाट बामे सर्दै ठूला पर्दामा पुगेर ‘ताते ताते‘ गर्दागर्दै दोलखाली सपूत दिपनारायण श्रेष्ठले बलिउड चलचित्र ‘योद्धा नताशा’ मा अभिनय गर्दै आफ्नो कलात्मक यात्रालाई नयाँ उचाइमा पुर्‍याएका छन्। उनले यस चलचित्रमा ऋषिमुनिको महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

शारीरिक बनाेट र जगल्टा परेकाे कपाल अनि लामालामा दाह्री र जुँगा भएकाे साे युवक झट्ट हेर्दाखेरि नै कुनै पर्वतकाे कुटीमा तपस्यारत महर्षि पाे हुन् कि जस्ताे देखिने युवा कलाकार श्रेष्ठले नेपाली चलचित्र र टेलिशृंखलामा लामो समय अभिनय गर्दै लोकप्रियता कमाएका छन्। त्यही प्राकृितक शारीरिक बनाेटकाे स्वरूप देखेर नै हाेला सायद ‘याेद्धा नताशा’ का निर्देशक भारतीय मिथिलेश निशादले उनलाई ऋषिमुनिमै अनुबन्ध गरेका छन् ।

शारीरिक बनाेट र प्रारूप हेर्दा डरलाग्दाे देखिएपनि उनकाे मन र स्वभाव भने अत्यन्तै दिलदार छ । सिने भूमिका बाहेक न काेहीसँग वैमनश्यपन छ न त कुनै व्यक्तिसंग झगडा र लफडा गरेकाे चर्चा । उनकाे मधुर बाेली, शिष्टता, सत्कारपन, समन्वयात्मक विचार, अभिनय शैली र कलाकारिताप्रतिको गहिरो समर्पणले उनलाई दर्शकबीच विशेष स्थान दिलाएको छ।

सिने पात्र दीप श्रेष्ठ

बलिउड चलचित्र ‘योद्धा नताशा’ प्रेम, संघर्ष, साहस र समर्पणको कथामा आधारित रहेकाे छ। यसमा नव अनुबन्धित नेपाली कलाकार समिता गिरी मुख्य अभिनेत्री र अरविन्द आर्यन मुख्य नायकका रूपमा प्रस्तुत हुँदैछन्। निर्माता तथा व्यवस्थापन पक्षले बताए अनुसार चलचित्रको छायांकन नेपालका प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा भइरहेको छ। यसले नेपाली भूगोल र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।

बबिता गुप्ताजीबाट निर्माण हुन लागेकाे यस चलचित्रकाे कथा तथा पटकथा देवेन्द्र गुप्ताले तयार गरेका हुन्। चलचित्रमा सहायक निर्देशकको भूमिका प्रदीप यादव ले निर्वाह गरेका छन्। नृत्य निर्देशन सञ्जय शाह, द्वन्द्व निर्देशन सुयोग रिजाल, श्रृङ्गार सज्जामा नन्दलाल यादव, छायांकनको जिम्मेवारीमा अमित बोके र बब्लु सोहेब रहेका छन् भने निर्माण सहयाेगी शुभव यादव रहेकाे जानकारी प्राप्त भएकाे छ ।

सामाजिक तथा हास्य नेपाली टेलिचलचित्रहरूकाे दर्जनाैं श्रृङ्खलामा काम गरिसकेका दिपनारायण श्रेष्ठले ठूला पर्दाकाे नेपाली चलचित्र बर एण्ड बधु’, ‘नरसिंहा’, ‘ह्रस्वदीर्घ’, ‘बाह्रगाउँ’, ‘हरिबहादुरको जुत्ता’ र ‘गोबर-गणेश’ लगायतका नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। श्रेष्ठकाे याे बलिउड प्रवेशलाई नेपाली कला–संस्कृतिको गौरव र अन्तर्राष्ट्रिय सिने जगतमा आफ्नो कलाकारी यात्रालाई पहिचानमुखी सफलता हासिल हुनेमा विश्वास राखाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button