
अब ‘लुसिफर राइजिङ २.०: ए जेन-जी प्ले’ नामबाट पुनः प्रदर्शन हुँदै
निर्माण पक्ष ‘मझुवा बगर जनकला मञ्च’ले शनिबार विज्ञप्ति जारी गर्दै नाटक लुसिफर राइजिङका लेखक तथा निर्देशक सहलेशलाई निर्माण पक्षले गम्भीर अनुशासन उल्लङ्घनको आरोपमा बर्खास्त गरेको जनाएकाे छ।
निर्माण पक्षले नाटकका निर्देशक सहलेशले संस्थाको मूल मर्मविपरीत काम गरेको र गम्भीर अनुशासन उल्लंघन गरेको आरोप लगाएकाे छ । संस्थालाई उपलब्ध गराएको आधिकारिक स्क्रिप्टभन्दा बाहिर गएर नाटकमा अनावश्यक थपघट गरेको र अत्यधिक अश्लील शब्दहरूको प्रयोग गरेको पाइएकाेले बर्खास्त गरेकाे बताइएकाे छ ।
नाटकको सन्दर्भ सामाजिक जागरणकाे देखाउन खाेजिए पनि पाेष्टरमा भर्खरै भएकाे सुकुम्बासी बस्ती हटाएकाे अंकित गर्नु र नाटककाे अन्त्यमा सन्दर्भभन्दा बाहिरकाे प्रसङ्ग जाेडेर कालो भादगाउँले टोपी र कालो चस्मा लगाएको नयाँ पात्रलाई अनपेक्षित रूपमा प्रवेश गराउनु समयसापेक्ष असान्दर्भिक रहेकाे दर्शककाे धारणा रहेकाे पाइन्छ । जसले अहिलेकाे देशकाे माहाेलप्रति कटाक्ष गरेकाे अनुमान लगाउन दर्शकहरूकाे दिमागमा केही असहज नहाेला ।
वास्तवमा नाटकले के देखाउन खाेजेकाे छ त ?- ‘सामाजिक–राजनीतिक पृष्ठभूमिमा रहेकाे याे नाटकले २४ भदौको काठमाडौंलाई एउटा कोठाबाट देखाउने संरचना रोजेको छ। यो संरचना केवल कलात्मक प्रयोग मात्र होइन, सामाजिक–राजनीतिक द्वन्द्वलाई व्यक्तिगत जीवनसँग गाँस्ने प्रयास हो। एलिसाको कोठा सुकुमबासी बस्तीको प्रतिनिधि बनेर नागरिकता विहीन युवतीको पीडा र सडकमा उत्रिएको विद्रोहलाई एउटै फ्रेममा ल्याउँछ। यसरी सीमित पात्रमार्फत सयौं प्रदर्शनकारीको मनोस्थिति मञ्चमा उतारिएको छ।

एलिसा नागरिकता विहीन युवती हुन्, जसको संघर्ष व्यक्तिगत मात्र होइन, राज्य–व्यवस्थाको असमानताको प्रतीक हो। उनका प्रेमी प्रताप सडकमा हिंसात्मक विद्रोहमा डुब्दै जान्छन् जसअनुरुप उनी बन्दुक खोस्ने, बैंक लुट्ने, लागुऔषध प्रयोग गर्ने। यसरी प्रताप र अन्य पात्रहरू सामान्य मानिसबाट ‘लुसिफर प्रवृत्ति’तर्फ रूपान्तरण हुन्छन्। नाटकले प्रश्न गर्छ कि हामी भित्रै कतै सैतान जन्माइरहेका त छैनौं ?
नाटकमा नेपाली राजनीतिक परिदृश्यभन्दा फरक धारमा रहेर धर्मलाई कमजोर आश्रयका रूपमा प्रस्तुत गरिएको छ। पात्रहरू डर, ग्लानी वा असुरक्षामा येशुको शरणमा जान्छन्, तर हिंसात्मक क्षणमा ईश्वरीय शक्ति मौन रहन्छ। बलात्कारको दृश्यले आस्थाप्रति गहिरो प्रश्न खडा गर्छ, विश्वास केवल कल्पनात्मक शरण हो कि वास्तविक शक्ति ? यसरी धर्मलाई अन्धविश्वास र असुरक्षाको प्रतीकका रूपमा देखाइएको छ।
नाटकको नाम र पोस्टरले राजनीतिक संकेत दिन्छन्- ‘लुसिफर’ शब्दको राजनीतिक प्रयोग र सुकुमबासी बस्तीको फोटो। तर, नाटक प्रत्यक्ष राजनीतिक प्रचारभन्दा टाढा रहँदै सामाजिक–मनोवैज्ञानिक प्रश्नलाई केन्द्रमा राख्छ।
लुसिफर राइजिङले नेपाली रंगमञ्चमा एउटा फरक प्रयोगको उदाहरण छाडेको छ। यसले दर्शकलाई केवल मनोरञ्जन होइन, सामाजिक असमानता, व्यक्तिगत ग्लानी, धार्मिक विश्वास र राजनीतिक द्वन्द्वबारे सोच्न बाध्य बनाएको छ। सहलेशलाई हटाइएपछि नाटकको भविष्य अनिश्चित देखिए पनि, यसले कला र समाजबीचको सम्बन्धलाई पुनः प्रश्न गरेको छ कि कला केवल सौन्दर्य हो कि समाजको कठोर यथार्थलाई उजागर गर्ने साहसिक माध्यम ?
लेखक तथा निर्देशक सहलेशलाई बर्खास्त गरिएपछि पुनः प्रदर्शन हुन लागेकाे यस नाटकले कस्ताे प्रतिक्रिया देखाउने हाे, त्याे भने हेर्न बाँकी रहेकाे छ ।
तस्बिर लेख स्राेताधारः सामाजिक सञ्जाल र अनलाइन पेज