Headlineसमाचारसाहित्य

दायित्व वाङ्गमय प्रतिष्ठानको २७ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं, जेठ १५ – दायित्व वाङ्गमय प्रतिष्ठान, नेपालले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेकाे छ ।

कार्यक्रममा नेपाली साहित्य, सामाजिक, धार्मिक तथा मानवीय सेवामा योगदान पुर्याउने स्रष्टा तथा संस्थाहरूलाई विशेष सम्मानसहितकाे पुरस्कार अर्पण गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तकाे सभापतित्वमा भएकाे कार्यक्रम समाराेहमा प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व राजदूत तथा विद्वान प्रा.डा. जयराज आचार्य थिए भने अन्य आमन्त्रितहरू प्रल्हाद पोखरेल, कलाधर काफ्ले, ठाकुर शर्मा भण्डारी रहेका थिए ।

पुरस्कार तथा सम्मानः दायित्व वाङ्गमय विशिष्ट सम्मान: पवन आलोक, प्रा.डा. रामप्रसाद दाहाल
दायित्व वाङ्गमय सम्मान: प्रा. माधव घिमिरे, नारायण ज्ञवाली
विद्वच्छिरोमणि हेमराज पुरस्कार: प्रा. नीलमणि ढुङ्गाना (नगद २५ हजार)
दायित्व मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार: नि:सहाय सेवा सदन (नगद २० हजार)
हरिकला–गुणाकर दायित्व रचना पुरस्कार: माधव काफ्ले (नगद १५ हजार)
दायित्व सीता पन्त स्रष्टा पुरस्कार: निर्मलरमण पराजुली (नगद १५ हजार)
दायित्व यशोदा पन्त पुरस्कार: सरस्वती चौलागाईं (२०८२), गार्गी चौलागाईं (२०८३) – (नगद १५ हजार)

समाराेहमा मन्तव्य व्यक्त गर्दै प्रा.डा. जयराज आचार्यले राष्ट्रको समृद्धिका लागि साहित्य र कविताको महत्वबारे चर्चा गर्दै पृथ्वीनारायण शाहको राज्य एकीकरणको प्रसङ्ग उठाए। अध्यक्ष रामप्रसाद पन्तले पुरस्कारका संस्थापक, सम्मानित व्यक्तित्व तथा दायित्व द्वैमासिक पत्रिकामा प्रकाशित उत्कृष्ट रचनाबारे प्रकाश पारे। सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूले आभार प्रकट गर्दै छोटो मन्तव्य राखे; निर्मलरमण पराजुलीले मुक्तक वाचन गरे।

साेही समाराेहमा कवि कृष्णप्रसाद बस्यालको ‘समयका झिल्का’, कवि केशवराज पन्तको ‘भावनाका झिल्का’ कविताकृति तथा ‘कैलाशदेखि सागरसम्म’ यात्रा संस्मरण र दायित्व द्वैमासिकको १५८ औँ अंक लाेकार्पण गरिएकाे छ ।

पानसको दीप प्रज्वलन र विद्वच्छिरोमणि हेमराज पाण्डेको तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको कार्यक्रममा उपाध्यक्ष प्रा.डा. भागवत ढकालले स्वागत मन्तव्य राखे भने महासचिव कवि यादव भट्टराईले सहजीकरण गरे। कार्यक्रमले साहित्यिक योगदानलाई सम्मानित गर्ने परम्परालाई निरन्तरता दिएको छ, जसले नेपाली साहित्य र सामाजिक सेवामा थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button