
हास्यव्यंग्यका उपरथी अनुभवी कलाकार मनोज गजुरेलकाे पहिलो रंगमञ्च अभिनय
काठमाडाैं १४ जेठ २०८३ – काठमाडौंको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा आजदेखि नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ। यस नाटकमा हास्यकलाकार मनोज गजुरेल पहिलो पटक रंगमञ्चमा अभिनय गर्दैछन्।
नवीन भट्टकाे डिजाइन तथा निर्देशनमा तयार भएकाे यस नाटकमा मनोज गजुरेल, रमेश बुढाथोकी, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत २० जना कलाकारले अभिनय गरेका छन् ।
नाटक असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५:१५ बजे मञ्चन हुनेछ। सार्वजनिक बिदाको दिन दिउँसो १:१५ बजे अतिरिक्त शो पनि हुने व्यवस्था गरिएको छ।
नाटक प्रदर्शनका लागि टिकट दर सामान्य दर्शकलाई रु ५०० र १००० अनि विद्यार्थी (सीमित कोटा) : रु ३०० ताेकिएकाे थिएटर स्राेतले जनाएकाे छ ।
भारतीय लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका छन्। अनुवाद प्रकाश दाहाल, सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, सङ्गीत अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका हुन्।
यसअघि सेतो धरती, मीरा, शिरीषको फूल जस्ता नाटक सफलतापूर्वक मञ्चन गरिसकेको कान्तिपुर थिएटरले यसपटक पनि दर्शकको उल्लेखनीय उपस्थिति रहने विश्वास व्यक्त गरेको छ।