
के हो इबोला भाइरस ? – विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल कङ्गोमा फैलिएको इबोलाको नयाँ प्रकोप ‘बुन्डिबुजो भाइरस’ स्ट्रेनका कारण भएको हो, जसको हालसम्म कुनै स्वीकृत औषधि वा खोप उपलब्ध छैन। सन् १९७६ मा कङ्गोमै पहिलो पटक पत्ता लागेको यो भाइरस चमेरोबाट मानिसमा सङ्क्रमण भएको मानिन्छ।
२१ दिने क्वारन्टीन अनिवार्य
काठमाडौँ १३ जेठ २०८३ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले इबोला प्रकोपलाई ‘विश्व स्वास्थ्य सङ्कट’ घोषणा गरेसँगै नेपाल सरकार र नेपाली सेनाले विशेष सतर्कता अपनाएका छन्।
अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूको सुरक्षा र स्वदेश फिर्तीका क्रममा अपनाइने प्रोटोकललाई कडा बनाइएको छ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार कङ्गोको इतुरी प्रान्तका पेनी, बुनिया र माबिबी गरी तीन स्थानमा हाल ९७० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्।
सङ्क्रमणको बढी जोखिम रहेको बुनिया क्षेत्रमा रहेका सैनिकहरूलाई विशेष सुरक्षा प्रोटोकल पालना गर्न निर्देशन दिइएको छ। हालसम्म सबै नेपाली सैनिकहरू सङ्क्रमणबाट सुरक्षित रहेको सेनाले जनाएको छ।
शान्ति सेनाबाट फर्किने टोलीका लागि विशेष स्वास्थ्य मापदण्ड तोकिएको छ। सैनिक प्रवक्ता बस्नेतले भन्नुभयो- “तत्काल सैनिकहरू फर्कने नियमित तालिका छैन। तर, विशेष परिस्थितिमा स्वदेश फर्कनुपरेमा सर्वप्रथम मिशन इलाकामै छुट्टै आइसोलेशनमा राखेर सुरक्षा प्रोटोकल पूरा गरिनेछ। नेपाल ओर्लिएपछि पनि उनीहरूलाई सिधै घर जान नदिई २१ दिनसम्म अनिवार्य रूपमा छुट्टै ट्रान्जिट क्याम्प (क्वारन्टीन) मा राखिनेछ।”

उक्त अवधिभर सैनिक अस्पतालका चिकित्सकहरूले उनीहरूको निरन्तर स्वास्थ्य परीक्षण र निगरानी गर्नेछन्। २१ दिनसम्म कुनै पनि लक्षण नदेखिएपछि मात्र उनीहरूलाई घर जान अनुमति दिइने सेनाको तयारी छ।
मन्त्रालय भन्छ: “आत्तिनुपर्ने अवस्था छैन, विमानस्थलमा निगरानी सघन”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शान्ति मिशनमा जाने सुरक्षा निकायका अधिकारीहरूसँग नियमित समन्वय भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले शान्ति सैनिकहरू सर्वसाधारण आउने नियमित उडान नभई चार्टर्ड जहाजबाट आउने भएकाले जोखिम व्यवस्थापन गर्न सहज हुने बताउनुभयो।
“छिमेकी मुलुकहरू हुँदै सङ्क्रमण भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच र निगरानीलाई सघन बनाइएको छ,” प्रवक्ता अधिकारीले थप्नुभयो, “कोभिड महामारीका बेला निर्माण गरिएका पूर्वाधार र प्रणालीहरू तयारी अवस्थामा रहेकाले हाल छुट्टै होल्डिङ सेन्टर वा क्वारन्टीन आवश्यक देखिएको छैन। अस्पतालहरूमा उपलब्ध आइसोलेशन सुविधाबाटै यसको व्यवस्थापन गर्न सकिन्छ।”
अर्कोतर्फ, सङ्क्रामक रोग विशेषज्ञहरूले भने इबोलाको उच्च मृत्युदरलाई मध्यनजर गर्दै पूर्वतयारी स्वरूप छुट्टै क्वारन्टीन र उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले भन्नुभयो:
“हाल सङ्क्रमण देखिएका देशहरूबाट नेपालमा आवतजावत कम भएकाले तत्कालै ठूलो जोखिम नभए पनि जोखिम शून्य भने छैन। इबोलाको उच्च मृत्युदरलाई ध्यानमा राख्दै सङ्क्रमित वा आशङ्का गरिएका व्यक्तिहरूलाई अलग राखेर उपचार गर्न ‘डेडिकेटेड सेन्टर’ स्थापना गर्न सकिए त्यो बढी प्रभावकारी हुनेछ।”
मुख्य लक्षणहरू: प्रारम्भिक चरणमा ज्वरो आउने, मांसपेशी दुख्ने, अत्यधिक थकान, टाउको र घाँटी दुख्ने हुन्छ। संक्रमण बढ्दै जाँदा बान्ता हुने र पखाला लाग्ने जस्ता घातक लक्षणहरू देखिन्छन्।
मृत्युदर: डब्ल्यूएचओका अनुसार यस प्रकृतिको इबोला सङ्क्रमणमा औसत मृत्युदर झन्डै ५० प्रतिशत रहिआएको छ। विगत ५० वर्षमा अफ्रिकी मुलुकहरूमा यस भाइरसका कारण लगभग १५,००० मानिसले ज्यान गुमाइसकेका छन्।
नेपाल सरकारले अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँगको समन्वयमा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ।