
काठमाडौं, ४ जेठ २०८३ – तीव्र बलर सन्दिप लामिछानेकाे कम समयकाे इनिङ्गमा १५० विकेटकाे विश्व रेकर्डसंगै आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार दोस्रो जित निकालेको छ।
सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको हो।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्यो। यससँगै नेपाल अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर एक बलमा १९४ रनमा अलआउट भएको थियो। यस जितसँगै नेपालले सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमार्फत दुई रनले भोगेको हारको बदला पनि लिएको छ।
यसअघि नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको थियो। जारी सिरिजमा नेपालले तीन खेलमध्ये दुईमा जित र एकमा हार निकालेको छ। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ।