Headlineसमाचारसंस्कृति पर्व

आजदेखि १० दिने गोसाइँकुण्ड मेला सुरू

काठमाडाैं ३ जेठ २०८३ – रसुवाको उच्च भागमा अवस्थित गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला आजदेखि सुरू भएको छ।

हजाराैँ भक्तजन रसुवाकाे धुन्चेस्थित गाेसाइँकुण्डमा पुगेर बिहानैदेखि पवित्र कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आराधना गर्दैछन्। धार्मिक विश्वासअनुसार शिवको दर्शनले मनोकाङ्क्षा पूरा हुने र कुण्डमा स्नान गर्दा रोगव्याध हट्ने मान्यता छ।

किम्वदन्तीअनुसार समुद्र मन्थनको विषपानपछि जलन शान्त पार्न भगवान् शिवले निलाद्रि पर्वतमा त्रिशूल प्रहार गरी जल उत्पन्न गर्नुभएको थियो, यही जलबाट बनेको पोखरी नै गोसाइँकुण्ड हो।

गोसाइँकुण्ड समुद्री सतहबाट करिब ४,३८० मिटर उचाइमा अवस्थित छ। वरिपरि १०८ वटा अन्य कुण्डहरू पनि छन्। यस क्षेत्रलाई सन् २००७ मा रामसार क्षेत्रमा समावेश गरिएको हो। धार्मिक यात्रामा भेटिने तामाङ संस्कृति र प्राकृतिक छटाले पनि मेलाको आकर्षण बढाएको छ।

परम्पराअनुसार भक्तजनले उत्तरगया धाममा स्नान गरी गङ्गा पूजन गरेर गोसाइँकुण्ड पुग्ने, बाटोमा ढुङ्गा राख्ने, लौरी विनायकमा लौरी चढाउने, र फर्किँदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाउने चलन छ।

यस मेलाले धार्मिक आस्था, सांस्कृतिक परम्परा र हिमाली पर्यटनलाई एकैसाथ जोड्ने काम गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button