अपराध घटनासमाचार

ललितपुरमा सुनचाँदी व्यवसायी ठगी गर्ने दाेलखाका एकसहित गिरोह पक्राउ

काठमाडाैं वैशाख ३१ – ललितपुरमा सुनचाँदी व्यवसायीलाई बिरामी आमाको उपचार गर्न भन्दै योजनाबद्ध रूपमा ठगी गर्ने एक गिरोह प्रहरी नियन्त्रणमा परेको छ।

बिरामी आमाको उपचार खर्चको बहानामा भावनात्मक दबाब सिर्जना गर्दै नक्कली सुन धितो राखी पाँच लाख रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये मिना कुमारी सुनुवार (काठमाडौं महानगरपालिका–१४), कालीदास धतानी (दोलखा स्थायी, हाल भक्तपुर) र अजित विश्वकर्मा (झापा स्थायी, हाल भक्तपुर) रहेका छन्।

प्रहरीका अनुसार गिरोहले गहनामा सुनको बाक्लो लेप लगाएर सक्कली सुनजस्तै देखिने बनाउने, नक्कली बिल–बिजक तयार गर्ने र भावनात्मक कथा सुनाएर व्यवसायीलाई विश्वासमा पार्ने रणनीति अपनाएको थियो।

गिराेहले राखेकाे वस्तु सुनजस्तो देखिने ३ थान तिलहरी, ६ थान ढिक्का, हरियो पोतेसहितको १ थान तिलहरी, १ जोर चुरा र चाँदीजस्तो देखिने १ थान तिलहरी बरामद गरिएकाे छ । प्रारम्भिक परीक्षणमा अधिकांश गहना नक्कली भएको खुलेको छ।

घटनापछि स्थानीय सुनचाँदी व्यवसायीहरूमा त्रास फैलिएको छ। पछिल्लो समय नक्कली सुन धितो राखेर रकम उठाउने घटनामा वृद्धि भएको भन्दै व्यवसायीहरूले सुरक्षा चुनौती बढेको बताएका छन्।

प्रहरीले अन्य व्यक्तिहरू पनि यस गिरोहबाट ठगिएको हुन सक्ने आशंका गर्दै पीडितलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। पक्राउ परेका तीनै जनामाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

खबर तस्बिर स्राेतः नव जनप्रहार पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button