१८ जना नेवार सांसदको सम्मानसहित नेवाः देय् दबू केन्द्रीय समितिको पहिलो बैठक जारी

१८ वेशाख २०८३ –नेपाल सम्वत् ११४६ बछलाथ्वक पूर्णिमा तिथि शुक्रबार
काठमाडौं – नेवारहरूको राष्ट्रि«य संगठन नेवाः देय् दबूले गत फागुन २१ गतेको आम निर्वाचनमा नेवार समुदायको तर्फबाट विजयी बनेका प्रतिनिधि सभा सदस्यहरूलाई बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।
काठमाडौंको बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्यूमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका १८ जना सांसदहरूलाई देशको भइरहेको प्रतिकूल परिस्थितिलाई बुझेर देश र जनताको आवश्यकता अनुसार काम गर्न सफल होउन् भन्ने शुभकामनाका साथ सम्मान गरिएको हो ।

नेवाः देय् दबूका संरक्षक मल्ल के सुन्दरको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा दबूका संरक्षकहरू नरेशकुमार ताम्राकार, निवर्तमान अध्यक्ष पवित्र वज्रचार्य, निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा वर्तमान सल्लाहकार चन्द्रलाल राजभण्डारी विशेष आतिथ्य रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष रश्मिला प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा रास्वपा, नेकपा एमाले र नेपाली काँग्रेसबाट प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरूको उपस्थिति रह्यो, जसमा उभयलिङ्गी सांसद भूमिका श्रेष्ठ विशेष आकर्षणको माहोल बनेको थियो ।

सभापति रश्मिला प्रजापतिले अध्यक्ष पदमा सबैले साथ सहयोग दिएर सर्वसम्मत निर्वाचित गराएकोमा आभार व्यक्त गर्दै उपस्थितजनलाई स्वागत भाव व्यक्त गरेकी हुन् । कार्यक्रममा उपस्थित तीनवटै दलका सांसदहरूले नेवार समुदायको पहिचानको लागि अपरिहार्य रहेको भाषा, संस्कृति, कला, परम्परालाई निरन्तरता दिन यथाशक्य साथसहयोग दिने प्रतिबद्धता जनाएका थिए ।
महासचिव श्रीकृष्ण महर्जनले सञ्चालन गरेको सो समारोहलाई सम्बोधन गर्दे प्रमुख अतिथि मल्ल के सुन्दरले संसद कक्षमा प्रवेश गर्दा हरेक नेवार समुदायका सांसदहरूले आफूलाई मात्र सांसद हुँ भन्ने होइन कि हामी नेवारका सन्तान हौँ, नेवार समुदायको हरेक आवश्यकतालाई गहन चिन्तन लिन जरुरी छ भनेर मनन गर्न आग्रह गरे ।
औपचारिक सम्मान, शुभकामना र वक्ताहरूको मन्तव्यपश्चात् वरिष्ठ उपाध्यक्ष सत्यनारायण डंगोलले सबैमा धन्यवाद भाव व्यक्तका साथमा कार्यक्रम सम्पन्न भएको हो । यसपछि केन्द्रीय समितिको पहिलो बैठकको मस्यौदा बारे छलफल भएको महासचिव श्रीकृष्ण महर्जनले यो समाचारदातालाई जानकारी गराएका हुन् । बैठक भोलि १९ गतेसम्म जारी रहनेछ ।
