Headlineप्रदेश खबरबिशेष

दोलखाका ९ वटै पालिकालाई ‘नेवाः देय् दबू‘ केन्द्रीय समितिको आग्रह

नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनसम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी दाेलखाकाे चरिकाेटमा हुँदै

बागमती प्रदेश दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा यही २०८३ साल वैशाख महिनाको २६ गते शनिबार (नेपाल सम्वत् ११४६ बछलागाक सप्तमी)को दिन नेवार र तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनसम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी हुँदैछ ।

बागमती प्रदेश सरकारले जारी गरेको “प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०”को कार्यान्वयनलाई सहयोग पुर्याउने उद्देश्यले बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोग तथा नेपाल तामाङ घेदुङको सहकार्यमा सो गोष्ठी हुन गइरहेको छ ।

महासचिवः श्रीकृष्ण महर्जन नेवाः देय् दबू केन्द्रीय समिति

नेवारहरूको राष्ट्रिय संगठन ‘नेवाः देय् दबू’ केन्द्रीय समितिका महासचिव श्रीकृष्ण महर्जनले दिएको जानकारी अनुसार दाेलखा चरिकाेटमा दबूद्वारा “सरकारी कामकाजको भाषा ऐन कार्यान्वयन अवस्था, चुनौती र भावी योजना” विषयक एकदिने अभिमुखीकरण गोष्ठी सञ्चालन हुनेछ ।

दबूका महासचिव महर्जनले नेवार र तामाङको भाषालाई सरकारी कामकाजीमा कार्यान्वयन गर्न गराउनका लागि ऐनको संरचना, उद्देश्य, कार्यान्वयन अवस्था, व्यावहारिक चुनौतीहरू तथा भावी कार्ययोजनाबारे सरोकारवाला निकायहरूबीच छलफल र अनुभव आदानप्रदान गरिने बताएका छन् ।

महासचिव महर्जनले सो गोष्ठी सफलतापूर्वक समायोजना गर्नका लागि ‘नेवाः देय् दबू दोलखा समिति’लाई स्थानीय पालिकाका प्रमुख उप– प्रमुखहरूसँग सद्भावमय समन्वय गरी व्यापक सहभागिता जुटाउन परिपत्र गरिसकेको जानकारी दिएका छन् ।

‘नेवाः देय् दबू दोलखा समिति’का अध्यक्ष बाबुराजा श्रेष्ठ र सचिव लीलाबहादुर श्रेष्ठले दोलखा जिल्लाका सबै पालिका प्रमुख लगायत स्थानीयहरूसँग गोष्ठीबारे जानकारी सहित सहभागिताका लागि व्यापक पहल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button