
चालु आर्थिक वर्षमा ५ लाखभन्दा बढी नेपाली विदेशिएः ठगी उजुरी र कानुनी विवाद बढ्दो
काठमाडाैं – वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा मात्रै ५ लाख ८७ हजार ३ सय ३२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।
चैत महिनामा मात्रै ५५ हजार ७ सय १२ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ५ हजार ९ सय ७ जना महिला र ४९ हजार ८ सय ५ जना पुरुष रहेका छन्। यस अवधिमा व्यक्तिगत तवरबाट ८ हजार ६ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् भने संस्थागत (म्यानपावर) मार्फत १० हजार ५ सय २१ जनाले नयाँ स्वीकृति पाएका छन्।
नेपालका युवाहरू वैदेशिक रोजगारीतर्फ झन् आकर्षित भइरहेका छन्। पुनः जानेको सङ्ख्या पनि उल्लेख्य छ। चैत मसान्तसम्म २ लाख ९३ हजार २ सय ५७ जनाले बिदा सकेर पुनः श्रम स्वीकृति लिएका छन्। श्रम विज्ञका अनुसार यसले स्वदेशमा स्वरोजगार बन्न नसक्ने अवस्थालाई देखाउँछ।

यसै अवधिमा वैदेशिक रोजगारीका नाममा हुने ठगी र समस्याका उजुरी पनि बढेका छन्। विभागमा ८११ उजुरी दर्ता भई ४ करोड ८० लाखभन्दा बढी क्षतिपूर्ति फर्छ्यौट गरिएको छ। विभिन्न समस्यामा परेका १ सय ७१ कामदारको उद्धार गरिएको छ। अदालतमा पनि ३२८ मुद्दा दायर भई ७ करोड ८७ लाख बराबरको क्षतिपूर्ति दाबी गरिएको छ।
म्यानपावर कम्पनीहरूको अनुगमनमा ४२६ संस्थामा छानबिन भई १३ करोडभन्दा बढी रकम फर्छ्यौट गरिएको विभागले जनाएको छ।
एकातर्फ रेमिटेन्सले देशको अर्थतन्त्र धाने पनि अर्कोतर्फ ठगी, कानुनी झमेला र उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको सङ्ख्याले वैदेशिक रोजगारीको असुरक्षित यात्रालाई उजागर गरेको छ।