Headlineसमाचारसंस्कृति पर्व

आज आमाको मुख हेर्ने मातातीर्थ औँसी

आज हामी यहाँ एक विशेष भावनासहित एकत्रित भएका छौँ, आमाको मुख हेर्ने औँसीकाे रूपमा श्रद्धा सम्मान र सत्कार गर्न र अर्काे मातातीर्थ औँसीकाे रूपमा दिवंगत आमाप्रति श्रलद्धाञ्जली अर्पण गर्न । यो दिन केवल संस्कार मात्र होइन, जीवनको मूल स्रोतप्रति श्रद्धा अर्पण गर्ने अवसर हो।

आमा संसार देखाउने हुन्, ज्ञानका मार्गदर्शक हुन्। आमा प्रेम र आदर्शका द्योतक हुन्, आस्था र प्रतिष्ठाका शक्तिदाता हुन्।

वैशाख कृष्ण औँसीका दिनमा हामी आमालाई मीठा–तागतिला खानेकुरा खान दिई, राम्रा लुगा लगाइ सम्मान गर्छौँ। आमा नभएकाहरूले तर्पण र पिण्ड अर्पण गरी दिवङ्गत आमाको सम्झना गर्छन्। यसरी जीवित वा दिवङ्गत, दुवै अवस्थामा आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गरिन्छ।

सनातन धर्मशास्त्रले भनेको छ- “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”। आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी छ भन्ने शास्त्रीय वचनले आमाको स्थानलाई अझ उच्च बनाएको छ।

सामाजिक चित्रणः प्रतिकात्मक तस्बिर

आमाले नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिन्छिन्। त्यसपछि जीवनभर सन्तानलाई संस्कार, शिक्षा, प्रेम र आदर्श दिन्छिन्। त्यसैले आजको दिन केवल उत्सव होइन, आमाप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो।

‘आमा सासु हुन्, सासु पनि आमा बन्न जान्न र ठान्न जरुरी’

आमाको मुख हेर्ने औँसी नेपाली संस्कृतिमा मातृत्वको सम्मान गर्ने पर्व हो, तर व्यवहारमा कतैकतै सामाजिक विभेद र नाताबीचको दरार देखिनु विडम्बना हो। छोरीलाई माइत जान सहजता दिने तर बुहारीलाई रोक्ने प्रवृत्तिले मातृत्वको मूल्य कमजोर बनाउँछ। वास्तवमा सासु पनि आमा हुन्, र बुहारीलाई आफ्नी छोरीझैँ सम्मान गर्न सक्नु नै समाज सुधारको आधार हो। मातातीर्थ औँसीलाई केवल जन्मदात्री आमाको सम्मानमा सीमित नगरी, सासु, हजुरआमा, दिदी, काकी—सबै मातृत्वका रूपहरूलाई समान आदर दिन सक्यौँ भने मात्र यो पर्वको वास्तविक अर्थ पूरा हुन्छ। आजको सम्पादकीय सन्देश यही हो—मातृत्वलाई स्वर्गभन्दा महान् ठानेर व्यवहारमा पनि समानता र सम्मान स्थापित गरौं।

अन्त्यमा, हामी सबैले आमालाई सम्मान गर्नुपर्छ, उनको आशीर्वादलाई जीवनको मार्गदर्शक बनाउनुपर्छ। जीवित आमालाई खुसी राख्नुपर्छ, दिवङ्गत आमालाई श्रद्धा अर्पण गर्नुपर्छ। यही नै हाम्रो धर्म, यही नै हाम्रो संस्कार हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button