दाेलखामा ‘द्वाल्खा गुठीको स्वर्णजयन्ती तथा स्मारिका लोकार्पण’ समारोह सम्पन्न

दोलखा– दोलखाको सबैभन्दा दोस्रो पुरानो सामाजिक संस्था ‘द्वाल्खा गुठी’ले ५०औँ वार्षिक जन्मदिवसको रूपमा आफ्नो स्वर्णजयन्ती तथा स्वर्ण स्मारिका लोकार्पणको कार्यक्रमसहित जन्मभूमि दोलखामै भव्यताका साथ सम्पन्न गरेको छ ।
भीमेश्वर नगरपालिकाको कार्यपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यमा मनाइएको उक्त समारोहमा संस्थाको संस्थापन पक्षका पूर्व अध्यक्ष मुक्तिमान राजभण्डारीज्यूलाई उहाँको सामाजिक र स्वच्छन्द समाजसेवाको उच्च कदरस्वरूप प्रमुख अतिथि, विशिष्ट अतिथिहरूबाट विशेष सम्मानसहित अभिनन्दन गरिए ।

कार्यक्रममा उपस्थितजनालाई स्थानीय संयोजक राकेश श्रेष्ठबाट स्वागत मन्तव्य गरिएपछि समारोहमा प्रमुख अतिथि नगरप्रमुख ईश्वरनारायण मानन्धरद्वारा उद्घाटन गरिएको उक्त अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू उपप्रमुख कमला बस्नेत, जिल्ला प्रशासन प्रमुख (प्र.जि.अ.) हरिप्रसाद घिमिरे, संस्थाका पुर्व अध्यक्ष एवं अभिनन्दित व्यक्तित्त्व मुक्तिमान राजभण्डारी लगायत सभा मञ्चमा आसीन स्थानीय विभिन्न सामाजिक संस्थाका व्यक्तित्त्वहरूद्वारा ‘द्वाल्खा गुठी स्वर्ण स्मारिका २०८२’ लोकार्पण गरिए ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै समारोहका सभापति तथा गुठीका अध्यक्ष विनोद मास्केज्यूले ‘द्वाल्खा गुठी’ले स्थापनाकालदेखि वर्तमान अवस्थासम्म स्थानीय दोलखाको साँस्कृतिक, सामाजिक, पौराणिक परम्परा जोगाउन, संस्कृति सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न गराउनमा यथाशक्य योगदान दिंदै आएको र प्राकृतिक तथा जैविक विपत्तिको बेलामा स्थानीयरूपमा तथा दोलखाभन्दा बाहिर उपत्यका या त्यसभन्दा बाहिर रहेका दोलखालीहरूको भलाइका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । साथै आफू उपाध्यक्ष रहँदाको कार्यकालमा पनि कोभिड–१९ को संक्रमणकालमा कार्यसमितिका पदाधिकारीहरूसमेत रहेर सेवा पुर्याएको र वर्तमान अध्यक्ष रहेकाे कार्यकालमा पनि विविध गतिविधिसहित दोलखामा चलाउँदै आएको एकमात्र ‘घरेलु तथा साना उद्योग कारखाना’ आफ्नै स्वामित्वमा भवन र जग्गा हुँदाहुँदै हाल सदरमुकाम चरिकोटमा भाडामा रहँदै आएकोमा दोलखामा नै प्रतिस्थापन गर्न हरदम प्रयासरत रहेको बताउनु भयो ।
कार्यक्रममा ‘द्वाल्खा गुठी’को स्वर्णजयन्ती र स्वर्ण स्मारिका लोकार्पण समारोहको बारेमा र गुठीको विगत र वर्तमान गतिविधिबारे संस्थाका सदस्य तथा साहित्यकार अमरकुमार प्रधानज्यूले संस्थापन पक्षले दोलखा र दोलखालीको हितका लागि धेरै योगदान दिइएको बारे चर्चा गर्नु भयो ।

समारोहलाई शुभकामना मन्तव्य दिंदै स्थानीय क्षयरोग निवारण संस्थाका अध्यक्ष तथा तिखतल प्रा.वि.का पूर्व अध्यक्ष तीर्थबहादुर जोशी, भी.न.पाकी नगर उपप्रमुख कमला बस्नेत, प्र.जि.अ. हरिप्रसाद घिमिरेज्यूहरूले संस्थाको गतिविधिप्रति सकारात्मक प्रभाव रहेको बताउँदै आगामी समयमा पनि गतिशील रहोस् भन्ने धारणा व्यक्त गरे ।
प्रमुख अतिथि मानन्धरज्यूले ‘द्वाल्खा गुठी’को कार्यप्रणाली र गतिविधि अत्यन्तै सबल र सक्षम रहेको बताउनुहुँदै गुठीले स्वर्णजयन्ती र स्वर्ण स्मारिका लोकार्पण समारोह मनाउन लागेको सन्दर्भमा आमन्त्रण गरिएको बेलादेखि नै आफू अत्यन्तै उत्साहित भएको बताउनु भयो । दोलखाको संस्कृति, सम्पदा, धार्मिक परम्परालाई निरन्तरता दिनका लागि आफू कहिल्यै पछि नहटेको धारणा व्यक्त गर्नुहुँदै घरेलुको प्रसङ्गमा दोलखामा नै स्थायीत्व दिन अझै आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गुठीका महासचिव उपेन्द्र प्रधानद्वारा सञ्चालन गरिएको सो समारोहमा दोलखाको संस्कृति, सम्पदा, जात्रा परम्परालाई निरन्तर साथ सहयो दिंदै आएका भजनर्कीतन र वाद्यवादनमा साथ सहयोग दिने भगवानदास श्रेष्ठ, रामबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, वीरबहादुर शिवभक्ति, श्याम खड्गी, वीरबहादुर खड्गी, लक्ष्मीबहादुर कुसुले, वीरबहादुर कुसुलेसहितलाई प्रमुख अतिथि मानन्धरज्यूबाट दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
