Headlineसमाचारसाहित्य

४५ औं कथा दिवसको अवसरमा ५ सर्जकहरू सम्मानित

वि.सं. २०८२ चैत १९ गते – ने.सं. ११४६ चाैलाथ्वक पूर्णिमा तिथि बिहिबार – २ अप्रिल २०२६

काठमाडाैं – साहित्यिक पत्रकार सङ्घद्वारा ४५ औं कथा दिवस २०८२ को अवसरमा काठमाडौंमा स्वदेश तथा विदेशमा रहेका सर्जकहरूलाई सम्मान तथा पुरस्कार समर्पण समारोहकाे आयोजना गरिए ।

भवानी साहित्यिक पत्रकारिता सम्मानबाट रमेश पोखरेल र प्रवीण जोशी, लोकप्रिया पुरस्कारबाट प्रतिसरा सायमि, व्यथित काव्य सम्मानबाट विमला तुम्खेवा र मीनकुमार श्रेष्ठ ‘नवोदित’ सम्मानित भएका छन् । व्यथित काव्य डायस्पोरा सम्मान भने अमेरिका निवासी लालगोपाल सुवेदी र दीपा राई पुनलाई पछि प्रदान गरिने भएको छ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार तथा साहित्यकार के के कर्माचार्यले सम्मान समर्पण गर्नुभयो । अध्यक्ष राधेश्याम लेकालीले कथा दिवसको उद्देश्यबारे प्रकाश पार्नुभयो भने समालोचक प्रमोद प्रधानले स्रष्टाहरूको परिचय विधागत तर्कसहित प्रस्तुत गर्नुभयो । चयन प्रक्रिया सम्बन्धी जानकारी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”ले दिनुभयो।

सम्मानित सर्जकहरूले मन्तव्य राख्दै सम्मानले सिर्जनशीलता र प्रेरणा थप्ने विश्वास व्यक्त गरे। शारदा मासिकका सम्पादक विमल भौकाजीले लघुकथा वाचन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो। सहजीकरण कवि मणि लोहनीले गर्नुभयो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष पद्मावती सिंहले गर्नुभयो।

कार्यक्रममा साहित्यिक पत्रकार, इतिहासविद्, गीतकार, इन्जिनियर, साहित्यकार, कलाकार लगायतको बाक्लो उपस्थिति थियो। यसले कथा दिवसलाई साहित्यिक उत्सवको रूपमा उजागर गर्‍यो।

साहित्यिक पत्रकार सङ्घः

साहित्यिक पत्रकार सङ्घ वि.सं. २०२९ साउन २९ मा स्थापना भएको हाे । यस सङ्घले नेपाली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिताको प्रवर्द्धनमा ५३ वर्षदेखि योगदान दिँदै आएको छ।

सङ्घले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ। यसले मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता पुरस्कार लगायत विविध सम्मान प्रदान गर्दै आएको छ।

वि.सं. २०४६ देखि २०६४ सम्म गाईजात्रे कार्यक्रम, रथारोहण, आत्मवाचन, कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिन प्रकाशनजस्ता गतिविधि सञ्चालन गर्दै स्रष्टा सम्मानमा निरन्तर क्रियाशील रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button