Headlineअन्तराष्ट्रियसमाचार

होर्मुज तनावले इन्टरनेटमा असरको जोखिम बढ्दै

वि.सं. २०८२ चैत १८ गते – ने.सं. ११४६ चाैलाथ्वक चतुर्दशी तिथि बुधबार –१ अप्रिल २०२६

अन्तर्राष्ट्रिय एजेन्सी – (नयाँ परिवेश काठमाडाैं)- अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु क्षेत्र प्रभावित हुँदा विश्वभर इन्टरनेट सेवामा समेत असर पर्ने जोखिम देखिएकोले विश्वभरि नै चिन्ता छाएकाे छ।

विशेषज्ञहरूका अनुसार केहीगरी यहाँ तनाव बढेमा वा केबलमा क्षति पुगेमा भारतसहित धेरै देशमा इन्टरनेटको गति सुस्त हुन सक्छ। यस क्षेत्रबाट करिब २० प्रतिशत कच्चा तेल र २५ प्रतिशत तरल ग्यास आपूर्ति हुने गर्छ। साथै यही मार्गमुनि समुद्रभित्र इन्टरनेटका मुख्य फाइबर केबलहरू बिछ्याइएका छन्।

विश्वको करिब ९५–९७ प्रतिशत डेटा समुद्रभित्रका केबलमार्फत प्रवाह हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्दा डेटा पुग्ने समय बढ्नेछ। यसको असर भिडियो हेर्ने, सामाजिक सञ्जाल चलाउने, भिडियो कल गर्ने तथा क्लाउड सेवामा देखिन सक्छ।

सूचना प्रविधि क्षेत्रमा ठूलो प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवामा अवरोध हुँदा आर्थिक क्षति हुने जोखिम छ। बैंकिङ कारोबार र विदेशबाट रकम पठाउने सेवामा समेत सुस्ती आउन सक्छ।

यद्यपि इन्टरनेट पूर्ण रूपमा बन्द हुने सम्भावना भने कम रहेको विशेषज्ञहरूले बताएका छन्। वैकल्पिक मार्ग प्रयोग भए पनि अत्यधिक चापका कारण गति घट्ने सम्भावना छ। यस जोखिमलाई ध्यानमा राख्दै भारतसहित विभिन्न देशहरूले वैकल्पिक मार्ग र नयाँ प्रविधिमा लगानी बढाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button