
जेन जी आन्दाेलनमा गाेली चलाएर १९ जना विद्यार्थीसहित ७६ जनाकाे ज्यान जाने गरी गरिएकाे घटनाबारे प्रतिवेदनमा नैतिक रूपमा कसैले जिम्मेवारी लिएकाे उल्लेख नहुनु गाेली चलाउन आदेश दिएकाेबारे स्पष्ट नहुनुले प्रतिवेदनप्रति आशंका उब्जिएकाे छ ।
काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीकाे सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी गठन गरिएकाे जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री शुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेसँगै ५ भागमा वर्गीकरण गरिएकाे १४ परिच्छेदमा विभाजित ९०७ पृष्ठमा लेखिएकाे प्रतिवेदन सार्वजनिक भएको हो ।
शनिबार सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक भएपछि सरकार सार्वजनिक गर्न बाध्य भएको हो । प्रतिवेदनमा उल्लेख गरिए झैं परिच्छेद- ५मा बयान तथा घटना विवरण कागज र सराेकारवालाबाट प्राप्त सुझाव पृष्ठ २८देखि ३३५ सम्ममा देखिन्छ ।
त्यसैगरी परिच्छेद- ६ मा प्रदर्शनकाे क्रममा धेरै क्षति भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट प्राप्त घटना विवरण व्यहाेरा पृष्ठ ३५८देखि ४२५ सम्म उल्लेख गरिएकाे छ ।

यस्तै प्रतिवेदनकाे परिच्छेद- ७ मा स्थलगत अनुगमनकाे क्रममा संकलित विवरण पृष्ठ ४२६ देखि ४८८ मा तस्बिरसहित उल्लेख गरिएकाे छ । जसमा ७ वटै प्रदेशमा समिति स्वयं पुगेर कारागार, पालिका, राजनीतिक व्यक्ति, अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट जानकारी लिइएकाे देखिन्छ ।
जेन जी आन्दाेलनमा गाेली चलाएर १९ जना विद्यार्थीसहित ७६ जनाकाे ज्यान जाने गरी गरिएकाे घटनाबारे कसैले पनि नैतिक जिम्मेवारी लिएकाे खुलाएकाे भने त्यति लामाे प्रतिवेदनमा कतै उल्लेख भएकाे पाइन्न ।