दाेलखाकाे नारायण मन्दिर पुनर्निर्माणका लागि महालक्ष्मी नगरपालिका ललितपुरबाट ९ लाख आर्थिक सहयाेग दिइने

वि.सं. २०८२ चैत ८ गते – ने.सं. ११४६ चाैलाथ्वक चतुर्थी तिथि आइतबार – २२ मार्च २०२६
दाेलखा – दोलखा भीमेश्वर मन्दिर परिसरकाे उत्तर-पश्चिममा रहेकाे ढुंगेधारा नजिकै रहेकाे नारायणकाे मन्दिर पुनर्निर्माणका लागि महालक्ष्मी नगरपालिकाबाट ललितपुर जिल्लाकाे महालक्ष्मी नगरपालिका ललितपुरबाट ९ लाख आर्थिक सहयाेग दिइने भएकाे छ ।
दाेलखाकाे साक्षात् भीमसेनप्रति गहिरो आस्था रहेकाे बताउने महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले उक्त मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयाेग उपलब्ध गराउने पालिकामा निर्णय भएकाे जानकारी गराएका छन् ।
दाेलखा भीमसेन दर्शन गर्न गएका नगरपालिकाका केही सदस्यसहितकाे ९ जनाकाे टाेली स्थानीय सुविधा सम्पन्न दी पुखुर्चा रिसाेर्ट हाेटलमा रहँदा साे कुराकाे खुलासा भएकाे रिसाेर्ट सञ्चालिका सृजना मानन्धरले बताएकी छन् ।

निर्दिष्ट स्थानमा मन्दिर पुर्निर्माण गराउनका लागि अवलाेकन र सहयाेगकाे बारेमा जानकारी गर्ने क्रममा भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठ, काेषाध्यक्ष सुरेश श्रेष्ठ, स्थानीय युवा समाजसेवी तथा दी पुखुर्चा रिसाेर्टका प्रबन्ध निर्देशक अजय प्रधानकाे उपस्थिति रहेकाे थियाे ।
महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले दोलखा भ्रमणका क्रममा प्रायः सधैं केही न केही सहयोग गर्दै गरेकाे जानकारी अजय प्रधान बताउँछन् । उनले दिएकाे जानकारी अनुसार कहिले स्थानिय विद्यालयका विद्यार्थीहरूका लागि खेलकुद सामग्री, कहिले मन्दिर सुरक्षाका लागि सिसी क्यामेरा अवलोकन गर्न टिभी अनि कहिले जात्राका सहभागीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।
रिसाेर्ट निर्देशक प्रधान भन्छन्- ‘ललितपुरका मेयर हरिगोविन्द श्रेष्ठ दाेलखाकाे समाज, धर्म र सामाजिक सेवाप्रति दत्तचित्त भएर सेवाको भाव जगाउने व्यक्ति, संस्था वा निकाय जाे जे भएपनि हामीले उनीहरूमाथि सत्कार र सम्मान जताउन कञ्जुस्याइँ गर्नुहुन्न, त्यसैले उहाँहरूकाे सम्मानस्वरूप निःशुल्क बास दिएका छाैँ । उहाँकाे टाेलीका लागि मात्र हाेइन जसले भीमेश्वर नगरपालिकाकाे वडा नं. २ मा रहेकाे याे दाेलखा शहर भित्रकाे सम्पदा, संस्कृति र परम्परा जाेगाउने उद्देश्य सहितकाे परिपक्व एजेण्डा लिएर आउनुहुन्छ । उहाँहरूकाे लागि समयावधि हेरेर निःशुल्क बासकाे व्यवस्था गर्ने अठाेट लिएकाे छु ।’
तस्बिर साैजन्यः अजय प्रधान