चैत ६ गते २०८२ – ने.सं. ११४६ चाैलाथ्वक पारू (परेवा) तिथि शुक्रबार
रणवीर सिंह अभिनित धुरन्धर–२ कीर्तिमानी कमाईः
फिल्मले पहिलो दिन ९७ करोड नेट कमाई गरेको छ। पेड प्रिभ्यु सहित १४४ करोड पुगेको छ। भारत बाहिर ६४ करोड कमाई गर्दै कुल २०० करोडभन्दा बढी पुगेको छ। यो बलिवुडको दोस्रो लामो फिल्म हो। रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त, आर. माधवन मुख्य भूमिकामा छन्।
निर्देशक हेमराज विसी फर्किँदैः
अमेरिकामा बस्दै आएका निर्देशक हेमराज विसी अब नयाँ फिल्म निर्देशनमा फर्किँदैछन्। उनले १८–५० वर्ष उमेर समूहका कलाकारका लागि अडिसन आह्वान गरेका छन्। अडिसन चैत्र १२–१४ मा कठघरा स्टुडियोमा हुनेछ। निर्माण कम्पनी मुनलाइट मोसन पिक्चर्सले व्यवस्थापन गर्नेछ।
युरोपा लिग क्वाटरफाइनल समीकरणः
रियल बेटिस, फ्रेईबर्ग, पोर्टो, बोलोग्ना, एस्टन भिल्ला, नोट्टीङघम फोरेस्ट, सेल्टा भिगो र ब्रागा क्वाटरफाइनलमा पुगेका छन्। खेल अप्रिल ९ (पहिलो लिग) र अप्रिल १६ (दोस्रो लिग) मा हुनेछ।
देशभर हावाहुरीसहित वर्षाः
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा असिना र वर्षा भएको छ। कालो बादलका कारण उपत्यका अध्यारो भएको छ। जल तथा मौसम विज्ञान विभागले पहिले नै चेतावनी दिएको थियो।
सुनचाँदीको मूल्य घट्योः
छापावाल सुन तोलाको ७८ सयले घटेर २,९४,५०० मा कारोबार भएको छ। चाँदी तोलाको ११५ ले घटेर ४,८९५ मा पुगेको छ। विहीबारको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको छ।