आपराधिक घटना नियन्त्रण कानुनी मात्र होइन, सामाजिक जिम्मेवारीको कमी

अपराध नियन्त्रणका लागि साेचनीय मार्गहरूः
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार
रोजगार र अवसर सिर्जना
सडक संरचना सुधार
विद्यालय र समुदायमा सचेतना कार्यक्रम
प्रहरी र नागरिकबीच सहकार्य
सन्दर्भः सिन्धुलीमा आपराधिक मुद्दाकाे चाप
सिन्धुली जिल्लामा फागुन महिनामै ३७ मुद्दा दर्ता हुनु, ११ आत्महत्या, १४ सवारी दुर्घटना र लागूऔषधसम्बन्धी घटनाहरू सार्वजनिक हुनु केवल तथ्यांक मात्र होइन, सामाजिक सचेतना र गैर जिम्मेवारीभित्रकाे गहिरो संकटको संकेत हो। प्रहरीको विवरणले देखाएको अवस्था हेर्दा प्रायः अपराधहरू कानुनी नियन्त्रणभन्दा पर, सामाजिक संरचना र मानसिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको छ।
११ आत्महत्याका घटनामध्ये १० झुण्डिएर भएको तथ्यले मानसिक स्वास्थ्य सेवाको अभाव र सामाजिक दबाबको गहिरो समस्या उजागर गर्छ। युवावर्गमा बढ्दो आत्महत्या दर बेरोजगारी, पारिवारिक विवाद, आर्थिक अस्थिरता र भविष्यप्रतिको अनिश्चितता सँग गाँसिएको देखिन्छ। यो केवल व्यक्तिगत निर्णय होइन, सामूहिक असफलताको प्रतिफल हो।
१४ दुर्घटनामा ४ मृत्यु र ३३ घाइते हुनु, ग्रामीण सडकको अवस्था, मापसे, तीव्र गति र मौसमीय प्रभावको परिणाम हो। यातायात नियम उल्लंघनमाथि कारबाही बढाइए पनि संरचनागत सुधारबिना दुर्घटनाको चाप घट्ने सम्भावना न्यून छ।
प्रहरी तथ्यांकमा देखिए अनुसार लागूऔषधसम्बन्धी ३ मुद्दा र ६ पक्राउले युवामाझ यसको प्रयोग बढ्दै गएको संकेत गर्छ। यो केवल कानुनी अपराध होइन, सामाजिक विघटनको सूचक हो। बेरोजगारी र अवसरको अभावले युवालाई गलत संगतले अँध्याराे बाटोतर्फ धकेलिरहेको छ।
घरेलु हिंसा र सामाजिक दबाबका कारण हुने अपराधकाे प्रकरणमा २ उजुरी मात्र दर्ता भए पनि वास्तविकता अझ गम्भीर हुन सक्ने अनुमान गरिएको छ। घरेलु हिंसा प्रायः मौन रहन्छ, जसले पीडितलाई अझै कमजोर बनाउँछ।
प्रहरीले गस्ती, निगरानी, प्रविधि प्रयोग र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ। तर अपराध नियन्त्रण केवल प्रहरीको मात्र जिम्मेवारी होइन सर्वसाधारण र आम नागरिककाे पनि दायित्व हाे । जसका लागि विद्यालय, स्थानीय तह, सामाजिक संघसंस्था र समुदायको साझा प्रयासबिना दीर्घकालीन समाधान सम्भव छैन।
सिन्धुलीको तथ्यांकले स्पष्ट सन्देश दिएको छ कि अपराध कानुनी विषय मात्र होइन, सामाजिक, आर्थिक र मानसिक स्वास्थ्य संकटको प्रतिबिम्ब हो। आत्महत्या, सडक दुर्घटना, लागूऔषध प्रयोग र घरेलु हिंसाले समाजको सक्रिय उमेर समूहलाई गहिरो असर पारिरहेको छ।
सिन्धुलीको अपराध चापलाई केवल तथ्यांकको रूपमा होइन, समाजको चेतावनीको रूपमा बुझ्न जरुरी छ। यदि आजै साझा प्रयास सुरु गरिएन भने भोलि यो संकट अझ गहिरो बन्नेछ।