प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न

मतगणना फिल्डमा सकियो
आज साँझसम्म अन्तिम डाटा प्रणालीमा प्रविष्ट हुने अपेक्षा
प्रत्यक्षतर्फको नतिजा आइसकेको छ
समानुपातिकतर्फको सिट बाँडफाँटको गृहकार्य सुरु हुँदै
सम्पूर्ण प्रक्रिया पूरा गर्न करिब एक हप्ता लाग्नेछ
सिट बाँडफाडकाे अन्तिम निर्णयका लागि केही समय लाग्ने
काठमाडाैं – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना फिल्डमा आज बुधबार पूरा भएको निर्वाचन आयोगले जनाएकाे छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार अब ती तथ्यांक केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको छ, जुन आज साँझसम्म सकिने अनुमान छ।

प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकतर्फको अन्तिम नतिजा आज साँझसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। त्यसपछि आयोगले सिट बाँडफाँटको गृहकार्य गरेर प्रतिवेदन तयार गर्नेछ।
३ प्रतिशत थ्रेसहोल्ड पार गरेका दल मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा सहभागी हुनेछन्। दलहरूले बन्दसूचीअनुसार नाम सिफारिस गरेपछि आयोगले समावेशिताको क्लस्टर मिलाएर उम्मेदवारलाई निर्वाचित घोषणा गर्नेछ।
समग्र प्रक्रिया पूरा गर्न अझै करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ। अन्ततः निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरी निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरिएपछि मात्र केन्द्रीय सरकार निर्माणकाे प्रक्रिया अघि बढ्ने बताइएकाे छ ।