सिराहामा डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामाथि डकैती, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।
बरामद सामग्रीमा दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोलीकाे साथमा करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागु पदार्थ अनि माेबाइल फाेन रहेकाे छ ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो। घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए।
प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिको खोजी जारी रहेको जनाएको छ।