
काठमाडाैं ११ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक सभापति भरत पराजुलीले रास्वपा परित्याग गरी नेपाली काँग्रेसमा पुनरागमन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखिएको नेताहरूको पार्टी परित्याग क्रमले संगठनात्मक संकटको संकेत दिएको छ। यसै सन्दर्भमा पराजुलीले रास्वपा छाड्नुमा उनकाे धुर्त्याइँ हाे या नेपाली काँग्रेस सभापति गगन थापाकाे चतुर्याइँ हाे साेचनीय विषय बनेकाे छ ।
रास्वपामा प्रदेशस्तरका संस्थापक नेतादेखि जिल्ला तहका नेतासम्म पार्टी छाड्ने क्रममा धेरैजना पुरानै पार्टीमा फर्किन थालेका छन्। यसै क्रममा मकवानपुरका संस्थापक सभापति पराजुलीले असन्तुष्ट भएर पार्टी छाड्दै पुनः कांग्रेसमा फर्किएका छन्।
रास्वपा छाड्ने अधिकांशमा जस्तै टिकट वितरणमा असमानता, नेतृत्वको पुँजीवादी सोच, र संगठन विस्तारमा गरेको मेहनतको मूल्याङ्कन नभएको गुनासो पराजुलीकाे रहेकाे छ । यसले रास्वपाको संगठनात्मक विस्तारमा अवरोध ल्याउने मात्र होइन, आगामी निर्वाचनमा पार्टीको सम्भावनामा पनि प्रश्न उठाएको छ।
रास्वपाले प्रारम्भमा नयाँ विकल्पको रूपमा लोकप्रियता कमाएको थियो। तर टिकट वितरणमा असन्तुष्टि, नेतृत्वप्रति अविश्वास, र संगठनात्मक संरचनामा कमजोरीका कारण पार्टीभित्र अस्थिरता बढ्दै गएको देखिन्छ। नेताहरू पुरानै पार्टीमा फर्किनु भनेको रास्वपाले आफ्नो मूल आधार गुमाउँदै गएको संकेत हो।
यस घटनाले नेपाली राजनीति भित्र नयाँ दलहरूको स्थायित्व र संगठनात्मक क्षमता कत्तिको चुनौतीपूर्ण हुन्छ भन्ने स्पष्ट देखाएको छ।