
काठमाडाैं ७ फागुन – चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हाल चर्चामा रहेका पात्रहरू नयाँ नभएको बताएका छन्।
चुनावी घोषणापत्रमार्फत उनले ‘नयाँ–पुरानो’ भन्ने असान्दर्भिक भाष्य खडा गरी भ्रम फैलाइएको भन्दै रवि लामिछाने र बालेन्द्र साहजस्ता पात्रहरू पहिले नै विभिन्न तहमा परीक्षण भइसकेको तर्क प्रस्तुत गरेका छन्।
ओलीले एमालेको विगतका आन्दोलन, नीति, सुशासन र विकास निर्माणका कामलाई प्रमाणित कार्यशैलीको उदाहरण बताउँदै लक्ष्य तोकेर अघि बढ्ने र बोलिएको कुरा पूरा गर्ने परम्परा एमालेको पहिचान भएको दाबी गरेका छन् ।
ओलीले भनेकाे सन्दर्भ जस्ताकाे तस्तै – ”‘आज नयाँ कि पुरानोको असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न पनि देखिन्छ, सुनिन्छ । आम मतदातालाई जानकारी नै छ, आज नयाँ भनिएका कोही पनि नयाँ हैनन्, हामी कोही पनि भ्रममा पर्न हुँदैन । नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि संघीय सरकार, त्यसमा सहभागी भइ आफ्नो ‘क्षमता र हैसियत’ देखाइसकेका छन् ।’ याे अभिव्यक्ति खासगरी रवि लामिछाने र बालेन्द्र साहप्रति लक्षित रहेकाे स्पष्ट देखिन्छ ।