आज शेर्पा समुदायकाे ग्याल्पो ल्होछार पर्व मनाउँदै

काठमाडाै ६ फागुन – आज काठमाडाैं उपत्यकामा रहेका शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले टुँडिखेलमा ग्याल्पो ल्होछार पर्व मनाउँदैछन्। साथै हिमाली जिल्ला दाेलखा, साेलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला जिल्लामा पनि ।
भोट भाषाको दाथोक चन्द्र मास पात्रो अनुसार फागुन शुक्ल प्रतिपदादेखि नयाँ वर्ष सुरु हुन्छ। यस वर्ष बाँदर वर्ष पूरा भई चरा वर्ष सुरु भएको छ। पर्वको अवसरमा गाउँघर, बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने परम्परा छ।

नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सामूहिक रूपमा खाने, शुभकामना आदानप्रदान गर्ने र नयाँ वर्षको स्वागत गर्ने चलन छ। शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षको चक्र हुन्छ।
आजदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम आयोजना गरिन्छ। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
