नक्कली धनीपुर्जा बनाएर जग्गा बेच्न खाेजेकाे आरोपमा तीन जना पक्राउ

काठमाडाैं – काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोजेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बेलायतमा बसाेबास गरिरहेका ईश्वर आङ्बुहाङको नाममा रहेकाे हालकाे मूल्य अनुसार १८ करोडको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्दा प्रहरी वृत्त गौशालाकाे सक्रियतामा उनीहरू तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा छिरिङ शेर्पा (सुक्र बहादुर) बाह्रबिसे नगरपालिका–६, दावा दोर्जे तामाङ, जुगल गाउँपालिका–३ र भुपाल सिं तामाङ, सुनापाती गाउँपालिका–२ का रहेका छन् ।
बेलायतमा बस्दै आएका ईश्वर आङ्बुहाङको नाममा रहेकाे साे जग्गा मालपोत चाबहिलमा दर्ता भएकाे कित्ता नम्बर ४६ को जग्गालाई नक्कली नागरिकता बनाएर बेच्ने योजना रहेकाे खुलासा भएकाे छ ।
सुक्रबहादुरलाई आङ्बुहाङ बनाएर नक्कली नागरिकता, परिचयपत्र, प्यान कार्ड, बैंक खाता खोल्ने कार्य भइसकेकाे साे जग्गाको मूल्य करिब १८ करोड पर्ने प्रहरी स्रोतको अनुमान रहेकाे छ ।