महावीर पुन : आलोचनाभन्दा पर, आविष्कार र सहिष्णुताको बाटोमा

समय-सन्दर्भः नेपालको सामाजिक जीवनमा महावीर पुन एउटा असामान्य नाम हो। अमेरिकामा उच्च शिक्षा हासिल गरेर पनि जागिर वा व्यापार नगरी गाउँगाउँ डुल्दै जनतालाई सघाउने, आविष्कार केन्द्र खोल्ने, अनि आलोचना सहन सक्ने उनको शैलीले उनलाई विशिष्ट बनाएको छ।
राजनीतिमा प्रवेश गर्दा लाेकप्रिय भनाउँदा नेताहरूले परिकल्पित आश्वासन, प्रतिबद्धता र असम्भव याेजनाहरू बाँड्दै हिँडेकाे बेलामा पूर्व शिक्षामन्त्री महावीर पुनले मतदातासँग भोट माग्ने शैली नै फरक देखाए। गाउँगाउँमा एक्लै हिँड्दै उनले भने- “भोट दिनु–नदिनु तपाईँहरूको इच्छा हो, मैले तपाईँहरूको समय लिएकोमा माफी चाहन्छु।” यस वाक्यमा निडरता, साहसिकता र समझदारी झल्किन्छ। उम्मेदवारले भोट माग्दा दबाब होइन, स्वतन्त्रता दिने दृष्टिकोण दुर्लभ छ।
सामाजिक सञ्जालमा उनले नेतृ रामकुमारी झाँक्रीले पुनलाई ‘बेबकुफ मान्छे‘ भनेर अपमानजनक शब्द प्रयाेग गर्दा पनि उनलाई उल्टै गाली नगर्न सर्वसाधारणमा आग्रह गर्दै आफूलाई नै “बेबकुफ” भनेर व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे। “अमेरिकामा पढेर पनि जागिर नगर्ने, व्यापार गर्न नजान्ने, गाउँगाउँ डुल्ने मान्छे बेबकुफ नभएर के हुन्छ?” भन्ने उनको भनाइ आत्म–व्यङ्ग्य मात्र होइन, आलोचनाप्रति सहिष्णुताको उदाहरण हो।
महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत गर्ने साहस देखाए। ३० वर्षदेखि बन्द रहेको वीरगञ्जको कृषि औजार कारखानालाई किताब बेचेर चलाउने उनको प्रयासले देखाउँछ- संसाधन अभावमा पनि सिर्जनशीलता र दृढता भए परिवर्तन सम्भव हुन्छ भन्ने अवधारणामा स्वयमबाट सिर्जित कृति बाेकेर बेचेर त्थान गर्न खाेज्ने स्वाबलम्बी व्यक्ति भएकाे छ ।
महावीर पुनको जीवनयात्रा केवल व्यक्तिगत संघर्ष मात्र होइन, आलोचनाभन्दा पर उठेर काम गर्ने साहसको कथा हो। भोट माग्दा विनम्रता, आलोचना सहन सक्ने सहिष्णुता, अनि आविष्कारमार्फत समाजलाई योगदान दिने प्रतिबद्धता—यी सबै गुणले उनलाई निडर, साहसिक र समझदारी व्यक्तित्वको रूपमा चिनाउँछ।