Headlineबिशेषसाहित्य

‘औँसीको जूनमा तारा खोज्दै‘- सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

साहित्य-खण्डः

लेखक साहित्यकार

अनौठो शीर्षक रहेको उपन्यास ‘औँसीको जून’ विमोचन हुने दिन म पनि साक्षी बन्न पुगेको थिएँ फर्पिङमा। दक्षिणकाली नगरपालिकाभित्र हिजोआज थुप्रै साहित्यिक कार्यक्रमहरू हुने गरेका छन् र ती कार्यक्रममा मेरो पनि उपस्थिति प्रायः हुने गरेको छ। फर्पिङमा जन्मिएका स्रष्टा किशोर पहाडीलाई नगरपालिकाले अभिनन्दन गरेको बेलादेखि वर्षमा धेरै पटक फर्पिङमा साहित्यिक कार्यक्रमहरू सञ्चालन हुन थालेका छन्। स्रष्टा किशोर पहाडीकै कारणले म फर्पिङसँग नजीक हुन पुगेको छु। उसो त मेरा पुर्खाहरूको बसाइ पनि फर्पिङ वरपर नै थियोे रे।

फर्पिङको भौगोलिक बनावट ज्यादै सुन्दर छ। दक्षिणकाली माताको ऐतिहासिक एवम् पौराणिक महत्त्व बोकेको मन्दिर पनि यहीँ छ। फर्पिङको माटो मलिलो र उर्वर छ। नासपाती र लप्सी,अन्य फलफूल र अन्नको उब्जनी हुने यहाँको माटोमा हिजोआज साहित्यकारहरू पनि उम्रन थालेका छन्। लटरम्म फलेर मीठो बास्ना छर्न थालेका छन्। स्रष्टा किशोर पहाडीको पदचाप पछ्याउँदै डा.शेखरकुमार श्रेष्ठ कविता, लघुकथा र समालोचनामा समेत अघि बढ्दैछन् भने रामराजा केसीहरू सुसेली साहित्यिक प्रतिष्ठान मार्फत् आफ्नो प्रतिभा तिखार्न र फर्पिङलाई साहित्यिक हब बनाउन तल्लीन देखिन्छन्।

सिन्धुली घर भई हाल फर्पिङमा बसोबास गर्दैआएका चन्द्रलाल तामाङ पनि फर्पिङकै हावापानीमा भिजेर साहित्यिक यात्रामा निकै अगाडि बढिसकेका रहेछन्। शुरुमा कवि, त्यसपछि गीतकार बनेका चन्द्रलाल तामाङको पहिलो गद्य कृति’औँसीको जून’भएको उनैले बताएका हुन्।

‘मनका तरङ्गहरू’ कवितासङ्ग्रह २०७२ पछि त्यसै वर्ष गीति एल्बम ‘कदम’ निकालेका उनको तीन दर्जनभन्दा बढी गीत प्रशारण भइसकेका रहेछन्। दुई दर्जनभन्दा बढी पुस्तक समीक्षा गरेका कवि, गीतकार चन्द्रलाल तामाङ ‘औँसीको जून’ पछि एक सफल उपन्यासकारमा दरिन पुगेका छन्।

सुसेली साहित्यिक प्रतिष्ठानबाट प्रकाशित ‘औँसीको जून’ एक सामाजिक उपन्यास मात्र नभई राजनीतिक पृष्ठभूमि बोकेको उपन्यास बन्न पुगेको छ। ‘फ्ल्यासब्याक‘ (स्मरण चित्रण) शैलीमा लेखिएको उपन्यासको शुरूवात पुरुष पात्र एउटा साहित्यिक कार्यक्रममा जान तयार हुन्छ। बाटोमा भेट भएकी एक युवतीसँगको वार्तालापबाट घटना क्रम बढ्दै गई उपन्यास लेखक नारायण वासुको कथा शुरु हुन थाल्छ।

उपन्यासका पुरुष पात्रको बाल्यकाल दुःखदायी हुन्छ। सानैमा बाउ मरेकाले उसले धेरै पढ्न पाउँदैन। बाबुको मृत्युु आफ्नो काका पर्नेले गराएको थाहा पाएर पनि न्याय नपाए पछि विद्रोही बनेका उनी माओवादीमा लाग्छन्। माओवादीमा छँदा पनि उनी जागरणका गीत लेख्छन्। माओवादीबाट वितृष्णा जागेपछि काठमाडौंमा कुनै एकजना मान्छेको घरमा घरेलुु कामदार बन्छन्। पछि बालाजु औद्योगिक क्षेत्रको कुनै एक उद्योगमा कार्यालय सहयोगी बनेर काम गर्दा भेट भएकी क्यान्टिन सञ्चालिकाकी छोरीलाई मन पराउँछन् तर केटी आफूभन्दा बढी पढेको थाहा पाएपछि पढाइको महत्त्व बुझेर दिलोज्यान लगाएर पढ्छन्। ती दुबै बराबरीमा पुगेपछिको जीवनले नयाँ मोड लिन्छ। घरसल्लाहमै बिहे भई घरजम हुन्छ। एउटी छोरी जन्मिन्छे। सुन्दर भविष्यको सपना बोकेर पुरुष विदेश जान्छ। कमाएको धन श्रीमतीलाई पठाउने गर्छ। प्राप्त रकम महिला पात्रले फारो गरेर खर्च गर्छिन् र बैंकमा जम्मा गरेर राख्छिन्। उनी स्वयं घरेलुु कामदार बनेर केही रकम जोगाउँछिन्।

काठमाडौंमा एउटा घर ठड्याउने रहरले चार आना जग्गाको बैनाबट्टा समेत गरेर राख्छिन्। पुरुष पात्र स्वदेश फर्कने बेलामा महिला पात्र काम गर्न बसेको घरको मालिकको छोराबाट उनी बिटुलो भइसकेकी हुन्छिन्। दोष कसको भनेर भन्नुभन्दा पनि समयको खाँचो दुबैले भोगेको परिणाम हुनपुग्छ। सानैमा बुबा गुमाएका पुरुष पात्र आमाको अथक परिश्रमबाट र आफ्नो लगनशीलताबाट माथि पुगेका भए पनि जीवन साथीको कारण फेरि उनको संसार भताभुङ्ग हुन्छ। घरपतिको छोरा र आफ्नै श्रीमतीलाई समेत मार्न उनी तयार हुन्छन्। त्यतिबेलै श्रीमतीको आग्रहमा उनी घरपतिको छोरा भेट्न पुग्छन्। बिरामी अवस्थामा रहेका घरपतिका छोरा सुवासले हात जोडेर माफी माग्छन्।

सुवासले पुरुष पात्रकी छोरीका नाममा एउटा कम्पनी खोलेका हुन्छन् र छोरी बालिग नहुन्जेलसम्म पुरुष पात्रले नै हेरिदिनुपर्ने हुन्छ। सुवासका एक छोरा र पुरुष पात्रकी छोरी अनि पुरुष पात्रकी श्रीमती जिम्मा लगाएर सुवास सदाका लागि बिदा हुन्छन् यस धरतीबाट।दु:खमा पनि सुखको केही झिल्को देखिन्छ। उजाड हुन लागेको जिन्दगीमा फेरि हरियाली छाउँछ। समय र परिस्थितिले मान्छेलाई कहाँ पुर्याउँछ पत्तै हुँदैन उपन्यास पढ्न थालेपछि। पुरुष पात्रको नाम हुन्छ उनै उपन्यास लेखक नारायण वासु।

उपन्यासमा प्रेम, पीडा, सामाजिक विसंगति तथा विकृति देखाइएको छ भने गणतन्त्र स्थापनापछि पनि देश,जनताको अवस्थामा कुनै तात्त्विक परिवर्तन नहुनाले जनतामा नैराश्य सृजना गरेको देखाइएको छ। उपन्यासमा महिला पात्र चाहे ती पुरुष पात्रकी आमा होउन् वा सासू आमा दुबैलाई बलियो पात्रको रूपमा चित्रण गरिएको छ। धेरै संघर्ष, राप र तापबाट ती दुबै पात्र इस्पात बनेका छन्। प्रेमको शक्ति कसैले मापन गर्न सक्तैन।

प्रेम उर्जा हो, प्रेम पूजा हो, प्रेम जगत हो, प्रेम ईश्वर हो भनेर प्रेमको व्याख्या बिस्तृत बुझाउने पात्र वासु नारायण आफ्नी श्रीमती गीतालाई भागवत गीता जस्तै पवित्र मान्छन् र आफू विदेशमा छँदा परस्त्रीसँग राखेको सम्बन्धहरू सम्झेर आत्मग्लानिको महसुस गर्छन्। उपन्यासका मुख्य पात्र वासु नारायणले नै फ्ल्यासब्याक मार्फत् सुनाइरहेको प्रेम कहानी साँच्चै नै मीठो, मार्मिक र सम्बेदनशील छ। मायामा सबै कुरा जायज हुन्छन् भन्ने एउटा गतिलो प्रमाण पनि यो उपन्यास।

कथानक विषयवस्तु सामाजिक, राजनीतिक र प्रेमको शब्दले बुनिएको छ। भाषा सरल र बोधगम्य छ। लेखन सलल बगेको छ। केही प्रुफ मिस्टेकहरू छन्। कवि र गीतकारमा प्रसिद्ध पाइसकेका स्रष्टाको यो पहिलो आख्यान कृति भए पनि सम्भावना बोकेका उपन्यासकार भन्न सकिन्छ। एक दिनको पूरा समय दिएर पढ्न बस्दा कुनै पट्यार लाग्दैन। फर्पिङ निवासी प्रतिभाशाली लेखक चन्द्रलाल तामाङलाई हार्दिक बधाई सहित निरन्तर लेखनका लागि शुभकामना !

कृति: औँसीको जून
लेखक: चन्द्रलाल तामाङ
सम्पादन : डा. शेखर कुमार श्रेष्ठ
लेआउट : सरोज बलामी
प्रकाशन वर्ष : पहिलो, २०८२
प्रकाशक: सुसेली साहित्यिक प्रतिष्ठान,दक्षिणकाली
लेखक सम्पर्क : दक्षिणकाली नगरपालिका, वडा नम्बर ५, सतीखेल, काठमाडौँ

प्रस्तुत लेखः शब्दपथबाट साभार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button