
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रमा चुनाव लड्न खोज्ने गरेको टिप्पणी गर्दै चुनावी अभियानमा लागेका छन् ।
काठमाडौंमा जितिसकेका व्यक्तिले त्यहीँबाट पुनः चुनाव लड्न नसक्नु विश्वास गुमाएको संकेत भएको बताउँदै झापाको गौरीगञ्जसँग आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै ओलीले त्यहाँको विकास र परिवर्तनको चर्चा गरेका छन् ।
आफ्नो नेतृत्वकालीन योगदान उल्लेख गर्दै हुलाकी राजमार्ग, पुल निर्माण, विद्युत्, संचार सेवा, विद्यालय तथा सामाजिक सुरक्षा भत्ता जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेकाे व्याख्यात्मक टिप्पणी उठाएका छन् । ओलीले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको तर पछिल्लो आर्थिक अवस्था र सरकार परिवर्तनका कारण बढाउन नसकिएकोमा दुःख व्यक्त गरे।
ओलीले समाजमा मधेशी–पहाडी भेदभावलाई अस्वीकार गर्दै सामाजिक न्याय र समानताको आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिए। उनले सामाजिक सद्भाव बिथोल्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै पछाडि परेका समुदायलाई अगाडि बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।