कोशी प्रदेशसभा पुनःक्रियाशील बन्दै

काठमाडाैं माघ २६ – जेनजी आन्दोलनपछि स्थगन भएकाे काेशी प्रदेशसभा लामो समयकाे अन्तरालमा आइतबारदेखि वीरेन्द्र सभागृहमा सुरु हुँदै पुनःक्रियाशील बनेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी र तोडफोड भएपछि अधिवेशन रोकिएको थियो। सभा भवन पुनर्निर्माण नभएकाले हिउँदे अधिवेशन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सुरु भएकाे छ ।
हिउँदे अधिवेशनकाे पहिलो बैठकमै सुशासन, भ्रष्टाचार नियन्त्रण, आन्दोलनका क्षति र राज्यको भूमिकाबारे सत्तापक्ष र प्रतिपक्षबीच तीव्र टकरावबाट सुरु भएकाे छ । सभामा राजनीतिक दलहरूमध्ये एमाले–नेकपा बीच आरोप–प्रत्यारोप चर्किएपछि बैठक अवराेध हुने हाे कि भन्ने शंका उब्जेकाे थियाे ।
दलहरूबीचकाे विवाद साम्य बनाउँदै कांग्रेसले संयमित भुमिकामा रहेर संवाद र सहमतिमा रहन जोड दिए । यसैबीच राप्रपाले भने राजसंस्थाको आवश्यकता औँल्याउन पछि परेनन् ।
बैठकमा चलेकाे आरोप–प्रत्यारोपप्रति गम्भीर हुँदै सभामुख अम्बरबहादुर विष्टले देश र लोकतान्त्रिक संस्थामाथि आक्रमण भएको भन्दै दलहरूलाई जनभावनाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए ।
हिंसात्मक आन्दोलनपछि पुनः सुरु भएको अधिवेशन आगामी दिनमा प्रदेशको राजनीतिक दिशा र सत्ता समीकरणका दृष्टिले निर्णायक हुने अपेक्षा गरिएकाे छ ।