Headlineबिशेषसाहित्य

“विश्व क्यान्सर दिवस—साहसको सम्झना !!”

कवियित्री अञ्जु चालिसे

कविताः सन्दर्भ विश्व क्यान्सर दिवस

आज शरीर मात्र होइन,
आत्माले पनि राक्षस-रूपी रोगसँग
युद्ध लडिरहेका
साहसी, सुन्दर आत्माहरूलाई सम्झने दिन हो,
क्यान्सरसँगको यो लडाइँ
डरको होइन—धैर्यको नाम हो।

केश झरेका छन्,
तर हौसला झरेको छैन,
आँखा थाकेका छन्,
तर सपनाले हार मानेको छैन।

अस्पतालका सेता पर्खालभित्र
कति नदेखिएका वीरहरू बस्छन्,
पीडाभित्र पनि मुस्कान खोज्ने
मानव साहसका प्रतिमूर्ति हुन्छन्।

यो रोगले सोध्यो, “तिमी कमजोर छौ?”
उत्तर आयो, “होइन,
म अझै बाँच्छु, म अझै लड्छु।”

आज हामी सम्झन्छौँ—
लड्ने हातहरूलाई,
आशा बोकेका मनहरूलाई,
र उपचारभन्दा पहिले
माया खोज्ने सत्यलाई।

विश्व क्यान्सर दिवस
सम्झाउने दिन हो—
रोगभन्दा ठूलो हुन्छ हिम्मत,
अन्धकारभन्दा बलियो हुन्छ
आशाको उज्यालो।

तपाईँ कमजोर होइन,
तपाईँ त साहसको अर्को नाम हो।
पीडाले शरीर थाक्ला,
तर तपाईँको आत्मा अझै बलियो छ।

आज नभए भोलि पक्कै,
अँध्यारो चिरेर उज्यालो आउँछ।
तपाईँहरू एक्लो हुनुहुन्न
हरेक धड्कनसँग प्रार्थना गाँसिएको छ।

लडिरहनुस्, नयाँ जीवनको लागि,
जीवन तपाईँको पक्षमै छ।
तपाईँ उदाहरण हो,
जीवनदेखि हारेर
अनाहक ज्यान गुमाउनेहरूका लागि।

मेरो सदैव प्रार्थना छ भगवानसँग
तपाईँको स्वस्थ जीवनको,
तपाईँको पुनर्जन्मजस्तै
उज्यालो नयाँ जीवनको।

अन्जु चालिसे (रुपान्जली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button