
माघ १८ काठमाडाैं –
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावमा कुनै पनि दलसँग तालमेल नगर्ने र अन्य दलका उम्मेदवारलाई सहयोग नगर्ने स्पष्ट गरेका छन्।
विशेषगरी झापा–५ मा अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गर्ने भन्ने चर्चाकाे खण्डन गर्दै एक अन्तर्वार्तामा सहयोग भन्नाले सिट खाली गरेर मात्र सम्भव हुन्छ, अन्यथा सहयोगको कुरा नै हुँदैन भनेका छन्।
लिङ्देनले झापा–५ मा योग्य उम्मेदवार लक्ष्मी संग्रौलालाई उठाएको जानकारी दिंदै संग्रौलाले तीन वर्षदेखि तयारी गर्दै आएका थिए र पार्टीले उनलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको खुलासा गरे ।
२०७४ र २०७९ को प्रतिनिधि सभा चुनावमा एमाले र राप्रपाबीच झापा लगायतका क्षेत्रमा तालमेल भएको थियो। त्यसबेला राप्रपाले झापा–५ मा ओलीलाई सहयोग गरेको थियो भने एमालेले झापा–३ मा लिङ्देनलाई साथ दिएको थियो।
यसपटक झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्व मेयर बालेन्द्र शाह उम्मेदवार बनेका छन्। यसले ओलीलाई चुनौती थपिएको विश्लेषण भइरहेका बेला लिङ्देनले स्पष्ट पारेका छन् कि व्यक्तिगत भेटघाटलाई सहयोगको संकेत मान्न हुँदैन।
अन्तर्वार्ताकाे क्रममा लिङदेनले यसाे भने,- “भेट्दा कुरा नगर्ने, हात नमिलाउने भन्ने त हुँदैन। तर फोटो देखाएर सहयोग भयो भन्नु गलत हो। सहयोग गर्ने निर्णय भएमा वक्तव्य वा पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन्छ,”।
झापा–३ मा आफू एमालेको सहयोगबिना नै जित्ने दाबी गर्दै लिङ्देनले भने, “राप्रपा देशभर एक्लै चुनाव लडिरहेको छ। मैले २०७९ को चुनाव सकिएलगत्तै नै भनेको थिएँ, सकेसम्म तालमेल नगरी चुनावमा जाने तयारी गर्नुपर्छ।”
२०७९ को चुनावमा राप्रपाले झापा–३ मा एमालेसँग तालमेल गरेर जितेको थियो भने जुम्ला, रुपन्देही, चितवन, मकवानपुरलगायत जिल्लामा एक्लै लडेर सफलता हासिल गरेको थियो।
यसपटक देशभर एक्लै चुनाव लड्दा कति सिट आउला भन्ने प्रश्नमा लिङ्देनले राप्रपाले विगतभन्दा धेरै राम्रो उपस्थिति हुने विश्वास राख्दै कतिपय ठाउँमा अप्रत्याशित र अकल्पनीय परिणाम आउने बताएका छन् ।