Headlineराजनितिविचार

कठै, हाम्रो दोलखाको निर्वाचन इतिहास !

निर्वाचन विशेषः दाेलखामा यसपटक संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्बद्ध नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्का, नेपाली काँग्रेसबाट अजयबाबु शिवाकाेटी, नेकपा एमालेबाट पार्वत गुरुङ र रास्वपाबाट इञ्जिनियर जगदीश खरेल लगायत अन्य दलसहित स्वतन्त्र उम्मेदवार रहेका छन् ।

हिमाली तथा पहाडी जिल्लाकाे उपमा बाेकेर उभिएकाे दाेलखा जिल्लाकाे नामकाे अगाडि ‘अधिक बुथ कब्जा हुने जिल्ला दाेलखा’ भन्ने शीर्षकसहितकाे लेख समाचार छापिएकाे र व्याख्या गरिएकाे सुनिंदा र पढिंदा हरेक दाेलखालीकाे मनमा कस्ताे अनुभूति हाेला ? के यत्ति कुराबाट अनभिज्ञ छन् र दाेलखा जिल्लावासी ?

जब कि खुट्टाकाे एउटा कुनै पनि औंलामा घाउचाेट लाग्दा मुटुमा चस्का पस्छ र मष्तिष्कमा धक्का लाग्न पुग्छ । के दाेलखा सम्पूर्ण जिल्लावासीकाे एउटा सिङ्गाे शरीर हाेइन र !? के कसैले, कुनै सञ्चार या सामाजिक सञ्जालले दाेलखाप्रति लक्षित गरेर ‘बुथ कब्जा गर्ने जिल्ला दाेलखा’ भन्ने शीर्षक राखेर समाचार या लेख सम्प्रेषण गर्नु उचित हाे ?

७७ जिल्लामा दोलखामा पनि फागुन २१ गते निर्वाचन हुने पक्कापक्की भइसकेकाे छ । दाेलखाले धेरै चुनावबाट इतिहासको पाठ सिकेकाे छ । धेरै पीडा भाेगेकाे छ स्थानीय विकास, शान्ति, सुरक्षा र सुव्यवस्थाका आशा बोकेर। राणाकालदेखि प्रजातन्त्र, पञ्चायती व्यवस्था भएर जनयुद्ध हुँदै लाेकतन्त्र र गणतन्त्र प्राप्त हुँदा पनि खासै सन्ताेष पाउन नसकेकाे पीडा दाेलखाकाे मात्र हाेइन, सिङ्गाे नेपाल देशकै हाे । हामीले लोकतन्त्रलाई उत्सवको रूपमा मनाउनुपर्ने हो। तर कठै ! हाम्रो इतिहासमा त्यो उत्सवलाई बारम्बार हुलदंगाले ढाकेको छ।

हुन त दाेलखामा पञ्चायती शासनकालदेखि नै चुनाव भनेको कस्ताे हाे भन्ने नबुझेकाे काेही नहाेलान् । त्याे समयमा जनचेतनाको अभ्यास होइन, बल र भीडको प्रदर्शन थियो। गाउँमा पढेर बुझेर होइन, सुनेको र भनेको भरमा पक्ष–विपक्ष भिड्थे। जातीय समुदायबीच हानाथाप हुन्थ्यो, पेय पदार्थको अत्यधिक सेवन हुन्थ्यो, अनि अन्ततः बुथ कब्जा गरेर मतपत्रमा छाप हानिन्थ्यो।

तर समय बदलिएको छ। आज दोलखामा ९२ प्रतिशत बासिन्दा साक्षर छन्। जनमानस चेतनशील छ, बुद्धिजीवी छ। तर नेतृवर्गको दम्भ अझै जीवित छ- “आफ्ना मान्छे भनेपछि जे जस्ताेसूकै दाग लागेकाे किन नहाेस्, उही व्यक्ति नै सर्वेसर्वा, उही जित्नुपर्छ” भन्ने सोच। यही सोचले लोकतन्त्रको उज्यालो अझै पूर्ण रूपमा चम्किन दिएको छैन।

आफ्ना मान्छे हार्न लागे भने के गरिंदाे रहेछ माथि उल्लेख भइसकेकाे छ । हामीले विगतका चुनावमा पनि नदेखेकाे हाेइन, जस्ताे कि २०७० मा अशान्ति, २०७४ मा गोली चल्दा एक युवकको मृत्यु, २०७९ मा फेरि बुथ कब्जा। यी घटनाले दोलखालाई अति संवेदनशील जिल्ला बनाएको छ। सायद त्यही घटनाले नै दाेलखाले उपनामकाे न्वारानी शब्द पाएकाे हाेला, ‘बुथ कब्जा हुने जिल्ला दाेलखा‘ भनेर ।

तर आज परिस्थिति फरक छ। सुरक्षा संयन्त्र बलियो बनाइएकाे शुभ सन्देशसहितकाे समाचार पढ्न पाइएकाे छ। दाेलखासहित रामेछाप र सिन्धुली गरी तीन जिल्लामा एसएसपीकाे नेतृत्वमा विशेष बेस स्थापना भएको छ। सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभाग संयुक्त रूपमा खटिएका छन्। संवेदनशील केन्द्रमा कडा निगरानी छ।

यसपटक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा छुट्टै सुरक्षा बेस स्थापना गरिएसँगै दोलखासँगै रामेछाप र सिन्धुलीलाई पनि मद्दत गर्ने जिम्मा दिइएकाे छ । दाेलखाका लागि कमाण्ड डीएसपी मनोजकुमार लामाले सम्हाल्ने भएकाे छ ।

दाेलखाका ९५ मतदान केन्द्रमध्ये ५२ अति संवेदनशील, २८ संवेदनशील, १५ सामान्य रहेकाे तथ्यांक सहित संवेदनशील केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरीको उपस्थिति सुनिश्चित गरिएकाे पनि जानकारी पाइँदा दाेलखामा यसपालि बुथ कब्जा गरेर एकलाैटी नतिजा देखाउने राजनीतिक दलहरूले केही पाठ सिक्लान् भन्ने आशा गराैँ ।

-श्यामसुन्दर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button