‘राजनीतिलाई कमाइ खाने भाँडो बनाउन हुन्न‘- पार्वत गुरुङ नेकपा एमाले दाेलखाका उम्मेदवार

दाेलखा – प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि उम्मेदवारी दर्ता गरेर फर्केपछि नेकपा एमाले दाेलखाका नेता एवम् पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले राजनीतिलाई कमाइ खाने भाँडो बनाइनु नहुने बताएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका गुरुङले आफूले राजनीति र उद्यमशीलतालाई सफलतापूर्वक अघि बढाएको दृष्टान्त दिँदै उनले कमाइ खाने भाँडो बनाउन नहुनेमा जोड दिएका हुन् ।
मुलुकलाई विद्यमान सङ्कटबाट बचाउन आफूले पुन: उम्मेदवारी दिएको उनले बताएका छन् । ‘देशलाई बचाउने र बनाउने मुख्य एजेण्डासहित नेकपा एमाले चुनावमा होमिएको छ,’ उनले भने, ‘पार्टीको निर्णय अनुसार मैले सम्पूर्ण नेताको साथमा उम्मेदवारी दर्ता गरेको हुँ ।’
उम्मेदवार गुरुङले दोलखामा आफूलाई राजनीतिमा इमान, निष्ठा, बेजोड सक्रियताको पहिचान बनाएका छन् । नेता गुरुङलाई पार्टीले दोलखामा फेरि पनि उम्मेदवारी दिने निर्णय गरेपछि उनी विजयी हुने चर्चा विपक्ष दलभित्रसमेत हुने गरेको पाइएको छ ।

गुरुङले यसअघि २०७४ सालको निर्वाचनमा काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार भन्दा बढी फराकिलो मतान्तरले विजयी हासिल गरेका थिए । पार्टीका अर्का नेता एवम् पूर्वपर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलसहितका नेता–कार्यकर्ताहरूको उपस्थितिमा मङ्गलबार दिउँसो चरिकोटस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता पोखरेल र गुरुङले दोलखाको सिङ्गो पार्टी पंक्ति एकतावद्ध भएर निर्वाचनमा होमिएको सन्देश दिएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताएका छन् ।