
‘व्यक्तिगत र संस्थागत चर्चाका लागि आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न खाेज्ने विपक्षी उम्मेद्वारहरू देख्न पाइयाे,’- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली
झापा दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज सोमबार गृहजिल्ला झापाकाे दमकमा पुगेपछि विपक्षीहरूमाथि कटाक्ष गर्दै चर्चाका लागि आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न खाेज्ने विपक्षी उम्मेद्वारहरू देखिएकाे बताएका छन् ।
उम्मेदवार मनाेनयन दर्ताका लागि झापा पुगेका अध्यक्ष ओलीले पत्रकारसँगकाे भेटघाटमा कुनै किसिमकाे डरत्रास नराखी ढुक्क भएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न विपक्षी उम्मेद्वारहरूलाई सुझाव समेत दिन पछि परेका छैनन् ।
ओलीले झापाको दमकमा पत्रकारसमक्ष आफूहरू अरुजस्तो डर त्रासको राजनीति नगर्ने भन्दै आफूविरुद्ध ढुक्कले प्रतिस्पर्धा गर्न सुझाव दिंदै चुनावी प्रतिस्पर्धालाई स्वभाविक रूपमा लिएको बताए।
उनले आफूले झापामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकासमा असाधारण विकास भएको दाबी गरे। कृषिको आधुनिकीकरण, उद्योगहरू बनाउँदै लाने अन्तिम तयारीमा रहेको र झापाको योजनाले धेरै रोजगारीको सिर्जना गर्नका लागि यान्त्रीकरण गरिरहेको उनले बताए।
उनले एमालेबाहेक अरुसँग विकासको कुनै योजना नै नरहेको उल्लेख गर्दै ओलीले देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको समेत बताए ।