आज ‘सोनाम ल्होसार’ पर्व विविध कार्यक्रमसहित मनाइँदै

काठमाडाैं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् ‘मञ्जुश्री वर्ष‘ नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिन्छ ।

विशेषतः तामाङ समुदायले सम्मान दिएकाे मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ।
विगतमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ। सोनाम ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। तसर्थ, पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्न यो पर्व मनाइन्छ।यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने विश्वास गरिन्छ। आजको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भई भूमिपूजा र कुलपूजा गर्ने चलन छ।
घरआँगन लिपपोत गर्ने, बौद्ध गुम्बाहरूमा गएर पूजाअर्चना गर्ने, दानदक्षिणा दिने, मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ। साथै, घरमा सेलरोटी, खाप्से जस्ता विशेष परिकार बनाएर खाने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ।
नेपालमा ल्होसार मनाउने चलन चीन तथा चीन प्रशासित क्षेत्रबाट भित्रिएको मानिए तनपनि तामाङ समुदायले आफ्नै मौलिक ‘चन्द्र पात्रो’ को प्रयोग गर्ने गर्दछन् । हुन त नेवार समुदायकाे ‘नेपाल सम्वत्‘ पात्राेमा पनि चन्द्र मास नै प्रयाेग गरिएकाे छ ।
महायान मञ्जुश्री सम्प्रदाय अन्तर्गत पर्ने तामाङ समुदाय बाहेक ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिले पनि आ-आफ्नो परम्परा अनुसार यो पर्व मनाउने गरिएकाे छ ।

नेपालको उच्च र मध्य पहाडी भेगका साथै छिमेकी मुलुक चीन, भारत, भुटान, म्यान्मार, मलेसिया, सिङ्घापुर, मंगोलिया, थाइल्यान्ड, भियतनाम, जापान लगायतका देशमा बसोबास गर्ने तामाङ तथा बौद्धमार्गीहरूले आज सोनाम ल्होसार मनाउँदै छन्।
आजको दिन तामाङ समुदायकाे घरघरमा, बाैद्ध स्तुपा र बौद्ध विहारहरूलाई ‘लुङ्दर‘ ध्वजापताका र पुष्पद्वारले सजाएर आकर्षक बनाइएको हुन्छ।
तस्बिर साभारः कात्निपुर, शिलापत्र